डा. नरनाथ पाण्डे । मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरमा कार्यरत प्राध्यापक, कर्मचारीहरूको भ्रमण २०८१ को शिलशिलामा यसपटक विभिन्न क्याम्पसहरूको भ्रमणसँगै थप रिफ्रेस हुनका लागि नवलपुरदेखि चिनको बोर्डर कोरोला नाकासम्म पुग्ने काम गरियो । आफ्नैै देशभित्र रहेका विभिन्न पर्यटकीय स्थल र धार्मिक स्थलहरूको भ्रमण गरी सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक तथा अन्य विविध विषयमा अनुभव र अनुभूति अरुलाई समेत जानकारी गराउने उद्देश्यले यो आलेख लेख्ने उत्प्रेरणा जागेको हो ।
हामीले आफूलाई व्यस्त र मस्त बनाउन, अति व्यस्तताका बाबजुद ताजापनको अनुभव गर्न, अन्य स्थानमा भए गरेका अनुभवहरू लिन, अरुका राम्रा कुराहरूको प्रवर्धन र अनुकरण गर्न, अधिकांश भूगोल र रमणिय सुन्दर प्राकृतिक दृश्यहरू हेर्न समेत विभिन्न भागहरूको भ्रमण गर्नुपर्ने हुन्छ । यसैक्रममा यस आलेखमा आन्तरिक भ्रमण र त्यसमाथि गण्डकी प्रदेशका महत्वपूर्ण स्थलहरूको जानकारी लिने उद्देश्यले गरिएको भ्रमण पश्चात् मनमा लागेका कुराहरू उल्लेख गर्ने जमर्को गरिएको छ ।
कोरोलासम्मको यात्राको क्रममा
शैक्षिक भ्रमणसहित पर्यटकीय क्षेत्र अवलोकनका लागि लेखक हित ४७ जनाको भ्रमण टोली २०८१ ज्येष्ठ १९ गतेदेखि २२ गतेसम्म चार दिनको अवधिमा गण्डकी प्रदेशमा रहेका विभिन्न मनोरम प्राकृतिक छटाहरू र विभिन्न पर्यटकीय स्थलहरूको अवलोकनमा व्यस्त रहेको थियो । भ्रमण समूहले मुस्ताङ्गको लोमान्थाङ्ग हुँदै चिनको बोर्डर कोरोला नाकासम्म गई त्यहाँको वस्तुस्थिति, पर्यटकीय स्थलहरू, मनोरम प्राकृतिक दृश्यहरू, हेर्नैपर्ने मुख्य ठाउँहरू, त्यहाँको मुख्य विशेषता आदिका बारेमा स्थानीय विज्ञ व्यक्तित्वहरूसँग छलफल गरेर जानकारी हासिल गर्ने कामसमेत गरेको थियो ।
भौगोलिक दृष्टिकोणले अति नै विकट मुस्ताङ्ग जिल्लाका विभिन्न भागहरूको लामो यात्रा गर्न केही समस्या भएतापनि दृढ इच्छाशक्तिका कारण भ्रमण समग्रमा सफल रह्यो । भ्रमणटोली नवलपुर, तनहुँ, कास्की, पर्वत, बाग्लुङ् हुँदै कोरोला चिनको नाकासम्म पुग्ने क्रममासमेत रमणीय दृश्यावलोकन गर्दै यात्रारत रहेको थियो ।
पूर्व पश्चिम राजमार्गको कावासोतीबाट यात्रा सुरु गरी अधिकांश बिग्रिएको बाटोको कहरपछि नारायणगढ प्रवेश गरेपश्चात् केही व्यवस्थित र राम्रो सडक रहेका कारण पोखरासम्म पुग्न खासै असहजता अनुभव गर्नुपरेन । समूहमा रमाइलो गर्दै प्राकृतिक दृश्य र मनोरम वातावरणको स्वाद चाख्दै ठाउँठाउँमा असहज सडकका बाबजुद पर्वत कुस्मा हुँदै लामा पुलहरू हेर्दै म्याग्दीको सदरमुकाम बेनी पुगियो ।
मोदी नदीका छेउँमा रहेको बेनीबजार समग्र रुपमा बिकट भौगोलिक बनावट, डाँडाकाँडायुक्त उपत्यकामा अवस्थित छ र समयमै सुरक्षाका उपाय नअपनाउने हो भने यही नदीका कारण कालान्तरमा यो शहर नै कतै जोखिममा त पर्ने होइन भन्ने आशङ्का गर्ने ठाउँ पनि रहेछ ।
बेनीबजारबाट भ्रमण समूहले अर्को गाडीको व्यवस्थापन गरेर जोमसोमसम्म पुगी पहिलो दिनको यात्रा अन्त्य गर्ने सोचका साथ बेलुका नै भएपनि अघि बढ्ने योजना बनाइ यात्रा सुरु ग¥यो र जोमसोमसम्म पुग्ने क्रममा तातोपानी, रुप्से छहरा, घाँसा, लेते, मार्फा, टुकुचेका रमणीय स्थलको स्वाद नचाखी अबेर भएपनि जोमसोमसम्म पुगेरै छाड्यो । पूर्व योजना अनुसार भ्रमण समूह पहिलो दिन जोमसोममा आरामपूर्वक बास बस्यो ।
अर्को दिन बिहानी घामको झुल्को जोमसोमलाई काखमा राखेको निलगीरी हिमालमा ठोकिँदा देखिएको मनोरम दृश्य र कालीगण्डकी नदीको सुसेलीको श्रवण गर्दै देखापरेको अनुपम छटामा रमाउँदै र क्यामेरामा आफूलाई कैद गर्दै सामाजिक सञ्जालमा राख्ने अभियान नै चल्यो । हिमाल पारीको जिल्ला मुस्ताङ्गको सदरमुकामसमेत रहेको जोमसोम बजार एउटा पर्यटकीय आकर्षक गन्तव्य पनि हो । त्यहाँबाट चारैतिर देखिने अग्ला पहाड, सेताम्य हिउँले ढाकेका हिमश्रृङ्खलाका मनोरम दृश्यहरू, सरसर्ती निरन्तर बहिरहने मन्द चिसो हावा र प्राकृतिक सुन्दरताको शब्दमा वर्णन गर्न सकिंदैन ।
नजिकैबाट देखिने निलगीरी हिमश्रृंखलाको सुन्दरतालाई नियाल्दै हिँड्दा स्वर्गमा पुगेको अनुभूति हुन्छ । मन्द चिसो हावा, हरियाली दृश्य, आकर्षक आधुनिक तथा परम्परागत घरहरू, मन्दिर, कालीगण्डकी नदी, व्यवस्थित बजार, आकर्षक हवाइ ग्राउण्ड्, सफा, धुलो र धुवाँ रहित क्षेत्र, न्यानो आतिथ्यताको शैली सहितको सेवा आदि जोमसोमका आकर्षण हुन् । जसले जोमसोमलाई युगौंयुग पर्यटकहरूको मानसपटलमा राख्ने गर्दछन् ।
यस्ता आकर्षक अवस्थालाई छाड्दै भ्रमण समूह उपल्लो मुस्ताङ्गतर्फ जानेगरी जोमसोमबाट रवाना भयो । कालीगण्डकी नदीको तिरैतिर बगर र वृक्षरहित डाँडाकाँडा हेर्दै एक्लीभट्टी हुँदै कागबेनीसम्म भ्रमण समूह पुग्यो र साँच्चिकै माथिल्लो मुस्ताङ्ग जानका लागि गाडी उकालो चढ्न थाल्यो । छुसाङ्ग, चैले, समर, घिलिङ्ग, घमी हुँदै चराङ्ग र एउटा महत्वपूर्ण गन्तव्य लोमान्थाङ्ग पुगेर बिहानको खाना खाने योजना अनुरुप खाना खान थालियो । खाना खाएपछि फर्केर आउँदा लोमान्थाङ्ग घुम्नेगरी पुनः यात्रा अझै माथितिरै चिनको बर्डरसम्म पुग्ने सोचका साथ अघि बढ्यो ।
उजाड लाग्दा बालुवा नै बालुवाले भरिएका डाँडाकाँडा र असाध्यै कलात्मक लाग्ने प्राकृतिक कलाकारितायुक्त अग्ला अग्ला पहाड हेर्दै गाडी निरन्तर उक्लिरह्यो र मुस्ताङ्ग जिल्लाकै अन्तिम गाउँ छोसेरसम्म भ्रमण टोली सकुशल पुग्यो । त्यहाँ सुरक्षा जाँचपछि गाडी पुनः उकालो चढ्दै छोसेरबाट गाउँरहित क्षेत्र करिब १४ कि.मी.को दूरी पार गर्दै जाँदा उकालो समाप्त भयो र समथर जमीनमा गाडी दौडिन थाल्यो ।
केही बेरमा चिनको बर्डर कोरोला र चिनतर्फ बनेका रहरलाग्दा घरहरू देखिन थाले । निकै चिसो हावा चलिरहेको, पानीका हल्का छिटाहरू छिटपुटरुपमा झरिरहेका र चिसो अनुभूति भइरहेको अवस्थामा गाडीबाट बाहिर निस्किएर नेपालको पिल्लर नम्बर २४ सम्म पुग्ने काम गरियो । समथर मरुभूमि जस्तै जमिनमा लम्पसार परेर चिनको कोरोला बसेको रहेछ । पारीपट्टि जान नमिले पनि मोबाइलका क्यामेरामा तस्बिरहरू कैद हुनथाले र नेपाली राष्ट्रिय झण्डा फहराउँदै कतिपय भ्रमण सदस्यहरूले फोटो भिडियो बनाउन थाले ।
एकल र सामूहिक तस्बिर खिच्ने काम भयो भने नेपालतर्फ पाल टाँगेर व्यापारका लागि बसेका स्थानीयहरूको मिठाईं किन्ने लगायतको काम पनि भयो । करिब ४५ मिनेट यही क्रम जारी रह्यो र चिसो तथा अल्टिच्युटका कारण कतिपयको टाउको दुख्ने, जाडो लाग्ने, शरीर काँप्ने हुन थालेपछि त्यहाँको बसाइलाई बिट मार्ने मन नहुँदा नहुँदै पनि फिर्ती यात्रा शुभारम्भ भयो र लोमान्थाङ्ग सम्मको गन्तव्यका लागि योजना बनाउँदै गाडी अगाडि दौडिन थाल्यो ।
कोरोलाबाट नवलपुर फिर्तीको क्रममा
विभिन्न भौगोलिक मनोरम दृश्यहरूको स्वाद चाख्दै ४,६६० मीटर उचाइमा रहेको कोरोलाबाट फिर्ती यात्रा सुरु गरियो र लोमान्थाङ्गमा पुगेर खाना खाने, घुमघाम गरेर बास बस्ने गरी लोमान्थाङ्ग झरियो । खाना खाएपछि आ–आफ्नै तरिकाले घुमघाम गर्ने काम भयो । पहाडै पहाडले भरिपूर्ण लोमान्थाङ्ग नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेछ ।
माटोबाट निर्मित एउटै कम्पाउण्ड्भित्र रहेको माटोको शहर भनेर चिनिने लोमान्थाङ्ग एउटा ऐतिहासिक दरबार रहेछ । उक्त दरबारभित्र पसेर सबै स्थलहरूको अवलोकन गर्दा ऐतिहासिक सम्पदा र पुरातात्विक महत्वका विषय पनि रहेछन् । लोमान्थाङ्गमा तत्कालिन समयमा राजाको शासन रहेछ र सबै जनतालाई एउटै कम्पाउण्ड्भित्र राखेर रेखदेख गर्ने र समूहमा बस्ने परम्परा रहेछ ।
त्यहाँ दरबार बाहिर राम्रै शहर र केही आधुनिक घरहरू पनि बनेका रहेछन् र सरसर्ती हेर्दा त्यो क्षेत्रमा पनि पर्यटकहरूका लागि राम्रो आकर्षण रहेको बुझ्न सकिन्छ । ३,८४० मीटरको उचाइमा रहेको लोमान्थाङ्गमा भ्रमण समूह बास बस्दा कसैकसैलाई सामान्य अल्टिच्युट लागेको लक्षण देखियो भने अधिकांशमा टाउको दुख्ने र सास फेर्न केही कठिनाइ भएको महसुस् भएतापनि गम्भीर खालको लक्षण भने देखिएन ।
भ्रमणको तेस्रो दिन बिहान लोमान्थाङ्गबाट रवाना भई भ्रमण समूह मुक्तिनाथ हुँदै जोमसोम र बेनीसम्म पुगेर बास बस्ने योजनाका साथ अघि बढ्यो । अनि खाली पेटमै कागबेनी र मुक्तिनाथको दर्शन गर्ने मनसायले अधिकांश भ्रमण सदस्यहरूले वाचा गरेका थिए । नभन्दै कागबेनी पुगेपछि कालीगण्डकीको नदीमा पवित्र भई दिवङ्गत पितृहरूको सम्झनामा दुध र जलबाट तर्पण दिने, धूपबत्ती बाल्ने र प्रार्थना गर्ने काम सम्पन्न गरी फोटो सेसन पश्चात् मुक्तिनाथ मन्दिरमा जाने उद्देश्यले गाडी उकालो लाग्यो ।
३,८०० मीटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिरसम्म पुग्दा पुनः लेक लाग्ने सम्भावना पनि थियो तर छिटपुट बाहेक कसैलाई त्यस्तो गम्भीर समस्या देखिएन । मन्दिर क्षेत्रमा अवस्थित विभिन्न स्थलहरूको अवलोकन, फोटो खिच्ने, १०८ वटा धारामा स्नान गर्ने र पोखरीमा डुबुल्की मार्ने काम गर्दैगर्दा १२ बजेदेखि बन्द भएको मन्दिर १ बजे खुल्ने समय पनि आइपुग्यो र सबैले मन्दिरमा दर्शन गरी रानीपौवामा आएर खाना खाने काम सम्पन्न भयो ।
तत्पश्चात् भ्रमण समूह जोमसोम हुँदै मार्फासम्म पुगेर केही समय मुस्ताङ्गको चिनो र आवश्यक सामग्री खरीद गर्दै पुनः रवाना भयो । बाटोमा पर्ने विभिन्न क्षेत्रहरू र प्राकृतिक सुन्दरतालाई हेर्दै समूह रुप्से छहरामा पुगेर विश्राम भयो । त्यहाँको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्दै र रमाउँदै पुनः यात्रा तातोपानी हुँदै बेनीको बजारसम्म पुगेर अन्त्य भयो । सडक निर्माणका कारण रुप्से छहराको पुरानो प्राकृतिक दृश्यमा खल्लोपन भएको महसुस् भयो भने तातोपानी कुण्डमा समेत पुरानो दृश्य विलोम भएको देखियो ।
भ्रमणको चौथो दिन २२ गते भ्रमण समूहले बाग्लुङ्गका केही पर्यटकीय स्थल हेर्दै नवलपुरसम्म नै पुग्ने योजना बनाएको थियो । सोही अनुसार बिहानै बेनीबजारबाट रवाना भई बाग्लुङ्गको शालग्राम गुफामा गई अवलोकन गर्ने काम गरियो । बाग्लुङ्गको शालग्राम गुफा रहेको क्षेत्र भ्रमणको सबैभन्दा प्रमुख आकर्षण रह्यो । त्यहाँको मनोरम दृश्य, प्राकृतिक रमणीय स्थल, राम मन्दिर लगायत विभिन्न मन्दिरहरू र सबैभन्दा महत्वपूर्ण आकर्षण त शालग्राम गुफा नै रहेछ ।
उक्त गुफाको प्रवेशद्वार नै आकर्षक थियो भने त्यसभित्र प्रवेश गरेपछि अनुपम आनन्द आउने र छाड्नै नसकिने दृश्य देखापरेपछि सबैजना लोभिएका पनि थिए । त्यहाँ निर्माण गरिएको गुफाभित्र कालीगण्डकी नदीको मुहान मुक्तिनाथदेखि कालीगण्डकी अन्त्य हुने त्रिवेणीसम्म रहेका विभिन्न आकर्षक स्थल र धार्मिक क्षेत्रहरूलाई देखाएर आकर्षक मूर्ति बनाइएको र त्यसमा शालिग्रामहरू मिलाएर राखिएका थिए ।
त्यति धेरै शालिग्राम र त्यति विभिन्न खालका शालिग्राम जीवनमै पहिलोपल्ट देखिएको थियो । यसका साथै गुफाभित्र विभिन्न अन्य आकर्षक सामग्री, तस्बिर र पुरातात्विक वस्तुहरू समेत राखिएको थियो जुन अध्ययनकर्ताका लागि एउटा गन्तव्य नै हो । यस्तो दृश्य देख्दादेख्दै मनले हिँड्न मानिरहेको थिएन तैपनि अवलोकनलाई दुःखपूर्वक विश्राम दिँदै अघिल्लो गन्तव्य पञ्चकोटतर्फ भ्रमण समूह रवाना भयो ।
अर्को गन्तव्य पञ्चकोट जुन भव्य धार्मिक स्थलको रुपमा विकास गर्ने जमर्को गरेर स्वामी कमलनयनाचार्यले ऐतिहासिक महायज्ञ आयोजना गरेर प्रचारप्रसारमा ल्याउनु भएको थियो, त्यो क्षेत्रको अवलोकन गर्न भ्रमण समूह पुग्यो । त्यहाँ पनि अनेकौं संरचनाहरू बनेका रहेछन् र बन्ने क्रममा रहेका कारण उक्त क्षेत्रको भविष्य राम्रो हुने आँकलन गर्दै समूहका सदस्यहरूले आवश्यक फोटो सेसन र अवलोकन समाप्त गरी अर्को गन्तव्यमा जाने योजना तय भयो ।
त्यसपछिको अन्तिम गन्तव्य बाग्लुङ्गको कालिका मन्दिर रहेको थियो र बिहानको समयमा खाना नखाँदै कालिका मन्दिर दर्शन गर्ने उद्देश्यले कालिका मन्दिरतर्फ यात्रा सोझियो ।
ऐतिहासिक महत्वको बाग्लुङ्ग कालिका मन्दिर क्षेत्रको अवलोकन र दर्शन गर्दै खाना खाने र बाग्लुङ्ग पर्वत जोड्ने झोलुङ्गे पुलको समेत अवलोकन पश्चात् भ्रमण समूहको भ्रमण पूरा भएको महसुस् गरी नवलपुरतर्फको यात्रा अघि बढ्यो र राति करिब ११ बजेतिर कावासोती फिर्ता भइयो । यसरी समग्रमा भ्रमण रोचक, आकर्षक, मनोरञ्जक र अनुसन्धानात्मक समेत रहन पुग्यो ।
भ्रमणका मुख्य उपलब्धि
कुनैबेला आफ्नैै छुट्टै राज्यको अस्तित्वमा रहेको र हाल गण्डकी प्रदेशभित्र पर्ने लोमान्थाङ्ग सुन्दर पर्यटकीय क्षेत्र हो । त्यहाँ पुग्न र त्यो भन्दा माथि चिनको कोरोलासम्म पुग्ने योजना बनाउनु केही जोखिमपूर्ण कार्य पनि हो । किनकि तराई क्षेत्रबाट एकैदिनको यात्रामा जोमसोम पुगेपछि नै सुरु हुने अल्टिच्युटको समस्या त्यो भन्दा माथिल्लो क्षेत्रमा पुग्दा बढ्दै जानु स्वभाविक नै हुन्छ ।
अझ त्यही क्षेत्रमै बास बस्नु झन् जोखिम मानिन्छ । यसलाई समेत बेवास्ता गर्दै भ्रमणमा निस्केको भ्रमण समूहले राम्रोसँग कुनै अप्रिय घटनाको सामना नगरी सकुशल फिर्ता भएको छ । भ्रमणका क्रममा ऐतिहासिक क्षेत्रको अवलोकन, दृश्यावलोकन र सामाजिक तथा धार्मिक अवस्थाको पहिचान समेत गर्ने उद्देश्य राखेको थियो जुन उद्देश्य यो भ्रमणले पूरा गरेको छ ।
एकपटक जानैपर्ने गन्तव्य रहेको उक्त क्षेत्रको भ्रमण गर्ने क्रममा बाटोमा पर्ने विभिन्न क्याम्पसहरूको समेत अवलोकन गर्दै, लोमान्थाङ्ग, कागबेनी, मुक्तिनाथ, बाग्लुङ्गको शालग्राम गुफा, पञ्चकोट, बाग्लुङ्ग कालिका लगायतका क्षेत्रहरूको भ्रमण गर्दा निकै अनुभव बटुल्ने र फरक खालको अनुभूति लिने काम भयो । यसले एकातिर आन्तरिक पर्यटनलाई टेवा पुगेको छ भने अर्कातिर गण्डकी प्रदेशको शिरदेखि पाउसम्म पर्ने भूगोललाई समेत परिचित बनाएको छ ।
गण्डकी प्रदेशभित्रै रहेका तमाम पर्यटकीय स्थलको चिनारी यो भ्रमणले दिएको अनुभव भएको छ । प्रमुख शहरहरू तनहुँ दमौली, कास्कीको पोखरा, पर्वत कुस्मा, बाग्लुङ्ग बजार, म्याग्दीको बेनीबजार, मुस्ताङ्गको जोमसोम र लोमान्थाङ्ग लगायतका क्षेत्रहरूको समेत भ्रमण गरिएको र भौगोलिक विकटताको समेत अध्ययन भएको छ । यो भ्रमणबाट समग्ररुपमा आनन्द र ताजापनको महसुस् भएको छ ।
अन्तमा,
एउटा अनुपम सुन्दर प्राकृतिक संरचनाले भरिपूर्ण गण्डकी प्रदेशका कास्की, पर्वत, बाग्लुङ्ग र हिमालपारीको जिल्ला मुस्ताङ्ग हुँदै कोरोला क्षेत्र एकपटक भ्रमण गर्नको लागि उचित गन्तव्य बन्न सक्नेमा कुनै शंका छैन । आवतजावतका लागि केही टाढाको गन्तव्य भएका कारण र उचाइमा पर्ने भएका कारण केही असहजता भएता पनि यात्राको क्रममा कुनै दुःखको अनुभूति र पछुतो हुँदैन ।
यसैगरी यात्राका क्रममा सुन्दरता र प्राकृतिक उपहारहरूले नै आँखा झिम्म पार्न नदिने परिस्थिति सृजना हुने गर्छ । त्यसकारण घुम्न चाहने नेपालीहरूले एकपटक घुम्नुपर्ने गन्तव्य मुस्ताङ्ग कोरोलालाई बनाउँदा कुनै पछुतो पर्ने छैन र यो क्षेत्रलाई एकपटक अवश्य पनि सबैले गन्तव्य बनाउन अनुरोध समेत छ । अस्तु
(लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरका प्राध्यापक हुन्)
९८५७०४०४६३, २०८१/०२/२५