बंगलादेशका प्रधानमन्त्री हसिनाले देश छोडिन्, सेनाले सत्ता हातमा लियो

बंगलादेशमा सेनाले सत्ता हातमा लिँदै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

सबै दललाई बोलाएको बताउँदै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ । ’आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छाडेकी हुन् । उनी चढेको हेलिकप्टर भारततर्फ उडेको बीबीसीले जनाएको छ । ।

यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जनाएको छ । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

आइतबारदेखि बंगलादेशमा पुनः आन्दोलन चर्किएको छ । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुनः चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ । ‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार  प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ ।