इजरायलले १० महिनायता गाजा क्षेत्रमा गरेको आक्रमणमा ४० हजारभन्दा धेरैको ज्यान गएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार ९२ हजार जना घाइते भएका छन् ।
हमासको स्वास्थ्य मन्त्रालयले विहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजार ५ जनाको मृत्यु भएको छ । गाजाको कूल जनसंख्या २३ लाख छ ।गाजा क्षेत्रमा ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएका छन् । स्याटलाइट तस्वीर हेर्दा सबैभन्दा धेरै भौतिक क्षति दक्षिणी शहर रफाहमा भएको छ ।
गत वर्षको ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भएपछि आक्रमण थालेका इजरायलले अहिले पनि त्यसलाई कायमै राखेको छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त कार्यालयका प्रमुख वोल्कर टर्कका अनुसार गाजा क्षेत्रमा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । गाजामा हृदयविदारक अवस्था रहेको भन्दै उनले भनेका छन्, ‘यस्तो हृदयविदारक अवस्था इजरायली सेनाले युद्धको नियम पालना नगर्दा उत्पन्न भएको हो ।’
उनका अनुसार गाजामा औसतमा दैनिक १३० जना मानिसको मृत्यु हुने गरेको छ । इजरायली सेनाले घर, अस्पताल, स्कुल र धार्मिक प्रार्थना स्थलमा समेत आक्रमण गरेको भन्दै उनले यसलाई निकै गम्भीर भनेका छन् ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयले युद्ध बन्द गर्न र बन्धकहरुलाई रिहा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।