कावासोती, असोज १ गते । नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ मा आगामी असोज ५ गते जितिया पर्वको अवसर पारेर थारु समुदायको चौथो झमटा गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ । ईको टुरिजम युथ क्लवको आयोजनामा झमटा गीत तथा नृत्य प्रतियोगिता हुन लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
थारु कला, धर्म, संकृतीको संरक्षण तथा जर्गेना गर्न, लोप हुन लागेको थारु भाषा एवं गीतहरुको प्रवद्र्धन तथा संंरक्षण र नयाँ गीतको सृजना गर्न तथा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष बालकुमारी महतोले जानकारी दिइन् ।
दुई विधामा विभाजन गरिएको प्रतियोगितामा परम्परागत र आधुनिक गीत र नृत्य समावेश गरिएको प्रतियोगिताका संयोजक मानबहादुर महतोले जानकारी दिए । दुबै विधामा प्रथम हुनेलाई १०/१० हजार द्धितिय हुनेलाई ७/७ हजार र तृतीय हुनेलाई ५/५ हजार पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका आर्थिक संयोजक परमेश्वर महतोले जानकारी दिए ।
अहिलेसम्म जिल्लाका ६२ टिमले टिम दर्ता गराइसकेको र बुधबारसम्म दर्ता समय रहेकाले अझै केही बढ्ने अनुमान आयोजकको छ । प्रतियोगिता कावासोती वडा नं.–१७ अमलटारी मैदानमा हुने छ ।