कावासोती, असोज १५ गते । नेपाल विद्युत प्राधिकरण नवलपुर शाखाले असोज ११ र १२ गतेको बाढी पहिरोले विद्युतमा ठूलो क्षति पुगेको जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्राधिकरणका कावासोती वितरण केन्द्रका प्रमुख सूर्य मण्डलले होङ्सी सिमेन्टमा जाने एक सय ३२ केभी प्रशारण लाइनको टावर भत्केर सबैभन्दा ठूलो क्षति भएको बताए ।
उनका अनुसार जिल्लामा विद्युत महसुलबाट उठ्ने रकमको आधा होङ्सी सिमेन्टले मात्र तिर्ने गरेको छ । प्राधिकरणले नवलपुरमा मासिक १८ करोड रुपियाँ विद्युत महसुलबाट उठ्ने गरेको जनाएको छ । त्यसैले एउटा टावर ढल्दा मर्मत खर्चबाहेक मासिक ९ करोड रुपियाँ घाटा लाग्ने मण्डलको भनाइ छ ।
बाढीले क्षति पुराउँदा देशभर ११ सय मेगावाट विद्युत कम भएको र यसले ३ अर्ब रुपैयाँ नोक्सान भएकाले भन्दै प्राधिकरणले त्यो मर्मत नहुँदासम्म भोल्टेज कम हुने स्पष्ट पारेको छ । ‘विद्युतको लाइन भनेको ग्रेडिङ सिस्टमको हुन्छ, सबै जालो जस्तो बेरिएको छ, एउटा जालो टुट्यो भने सिस्टम नै जान्छ, मण्डलले भने ।
उनका अनुसार दुई दिनको वर्षाले ४० वटा पोल ढलेका छन् । त्यस्तै ६ वटा पोल बाढीले बगाएको छ भने ८ वटा भाँचिएका छन् । २०० केभीको एउटा ट्रान्सफर्मर जलेको छ । यसबाट भएको क्षतिको आँकलन आइनकेको मण्डलले बताए ।
नारायणी नदीको बहावले आँपटारी सव स्टेशनमा हानेर तार बनाइदिएपछि गैँडाकोट क्षेत्रमा समस्या भएको र तत्कालै मर्मत गर्न नसकिए पनि बैकल्पिक व्यवस्था गरेर लाइन भने वितरण गरिएको उनको भनाइ छ ।
यसैबीच विपद् व्यवस्थाप समितिले आगामी दिनमा हुन सक्ने बाढी र डुवानलाई मध्यनजर गर्दै गैँडाकोट, देवचुली, कावासोती तथा मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकालाई एक एकवटा रबर बोर्ट खरिद गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
नारायणीको बाढी बस्तीमा पस्दा उद्दारका साधनमा कमि देखिएको भन्दै समितिले यस्तो निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । दुई दिनको बाढीले जिल्लामा मानवीय क्षति नभए पनि भौतिक क्षेत्री भने धेरै नै भएको र अझै पनि त्यसको तथ्यांक संकलनको काम भइरहेको पालिका र सरकारी कार्यालयहरुले जनाएका छन् ।