स्क्रिनमा बालबालिकाले अत्यधिक समय बिताउँदा हुन्छ शारीरिकदेखि एन्जाइटी र डिप्रेसन

गत वैशाखमा पाटन मानसिक अस्पतालको ओपिडीमा अभिभावकले १६ वर्षका एकजना किशोरलाई जचाउन ल्याए । विद्यालय जान छाडेर दैनिक करिब १८ घण्टासम्म मोबाइल मात्रै चलाएर बस्न थालेपछि अभिभावकले उनलाई काउन्सिलिङका लागि अस्पताल ल्याएका थिए । तर, बोलाउँदा नबोल्ने, झर्किने, रिसाउने, आमाबुबासँग झगडा गर्ने, सामानहरू फुटाइदिनेजस्ता व्यवहार बढ्दै गएको र शरीरको तौलसमेत बढिरहेको थाहा पाएपछि चिकित्सकले एक महिना पूर्ण निगरानीमा काउन्सिलिङ गर्ने निधो गरे ।

काउन्सिलिङका क्रममा उनलाई विद्यालयमा बुलिङ हुने गरेकाले सुरुवातमा स्कुल जान छाडेको पत्ता लाग्यो । बिस्तारै आक्रामक कन्टेन्ट भएका गेममा लत बसेपछि उनले दिनभरि मोबाइलमै समय बिताउन थालेका थिए । अभिभावकले मोबाइल नचलाउनु भनेमा रिसाउने र चिच्याउने व्यवहार देखाउन थालेपछि उनलाई उपचारको आवश्यकता भएको भन्दै अस्पताल ल्याएका थिए ।

हप्तामा दुई दिन ओपिडीमा काउन्सिलिङपछि एक महिनामा उनले मोबाइलमा बिताउने समय १८ घण्टाबाट १६ मा झर्यो । त्यसपछि उनलाई अस्पताल भर्ना गरेर नियमित थेरापी र काउन्सिलिङ गरियो । करिब एक महिना अस्पताल बसाइपछि उनको मोबाइलमा बिताउने समय आठ घन्टामा झरेको थियो । उनी विगत दुई महिनादेखि फेरि स्कुल जान थालेका छन् । नियमित थेरापी र काउन्सिलिङसँगै उनले डिप्रेसनको समेत औषधि लिइरहेका छन् । नियमित काउन्सिलिङमा रहेका उनी बिस्तारै सामान्य अवस्थामा फर्किँदै छन् ।

यस्तै, पाटन मानसिक अस्पतालमै अर्का तीन वर्षीय बालकसमेत नियमित थेरापीमा छन् । एक वर्षको उमेरमा बोल्ने, प्रतिक्रिया जनाउने उनी बिस्तारै बोल्न छाडेपछि अटिजमको शंका गरेर अस्पताल ल्याइएको थियो । आमाबुवा दुवैजना काममा जाने भएकाले उनलाई एक वर्षको उमेरदेखि भुलाउन मोबाइल हेर्न दिन थालियो । घरमा बच्चा हेर्ने मान्छे नभएको समयमा कतिपय अवस्थामा दैनिक पाँच घण्टासम्म मोबाइलमा समय बित्न थालेको थियो ।

प्रतिक्रिया नजनाउने, आँखा जुधाएर कुरा गर्न नसक्नेजस्ता लक्षण देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो । त्यसपछि चिकित्सकले मोबाइल र स्क्रिन पूर्ण रूपमा बन्द गरिदिए । अभिभावकले निरन्तर तीन महिनासम्म बच्चासँग खेल्ने, बाहिर घुमाउन लैजाने र एकजना अभिभावकसँगै बस्न थालेपछि बच्चा सामान्य अवस्थामा फर्किन थालेका छन् । हालसम्मै चिकित्सकको निगरानीमा आवश्यक थेरापीहरूसमेत भइरहेकाले बच्चाले बोल्न, प्रतिक्रिया जनाउन थालेको उनका अभिभावक बताउँछन् ।

यी दुई बालबालिका र किशोरकिशोरीमा अत्यधिक समय मोबाइल र अन्य ग्याजेट्समा बिताउँदा स्वास्थ्य समस्याका कारण अस्पतालसम्म पुगेका प्रतिनिधि घटना हुन् । तर, सानै उमेरमा मोबाइलमा मात्रै समय बित्न थालेपछि शारीरिक र मानसिक विकासमा समस्या मात्रै होईन, किशोरकिशोरीमा व्यावहारिक समस्या, एन्जाइटी र डिप्रेसनका समस्या देखिन पनि थालेका छन् ।

कति समय उपयुक्त ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बालबालिकालाई लामो समयसम्म मोबाइल वा ग्याजेट चलाउन दिँदा समस्या निम्तिरहेका भन्दै स्क्रिन टाइम कम गर्न सुझाव दिँदै आएको छ । डब्लुएचओले एक वर्षभन्दा कम उमेरको शिशुलाई स्क्रिन देखाउनै नहुने जनाएको छ । यसबाहेक १८ देखि २४ महिनासम्मका बालबालिकालाई एकदमै कम समय र सिकाइसँग सम्बन्धित भिडियोहरू मात्र देखाउन सुझाव दिएको छ ।

दुईदेखि पाँच वर्षका बालबालिकाका लागि शैक्षिक क्रियाकलापबाहेक बढीमा एक घण्टासम्म मात्रै हेर्न मिल्ने उसले जनाएको छ । र, ६ वर्षभन्दा माथिका बालबालिकाको हकमा निश्चित समय नछुट्याए पनि स्क्रिनको सट्टा अन्य क्रियाकलापमा बढी सहभागी गराउन, खाना खाने समय र घुम्न गएको समयमा स्क्रिन पूर्णतया बन्द गर्न, बच्चालाई झुलाउन वा रोएको बच्चालाई फकाउन स्क्रिनको प्रयोग नगर्न र सुत्नुभन्दा कम्तीमा आधादेखि एक घण्टाअघि स्क्रिनबाट टाढा राख्न अभिभावकलाई सुझाव दिएको छ ।

बालबालिकामा कसरी हटाउने स्क्रिनको लत ?

मोबाइल वा स्क्रिनको लत एकैचोटि लाग्दैन । के कारणले बच्चाले मोबाइलमा धेरै समय बिताउन थालेको छ भन्ने कुरा अभिभावकले ख्याल राख्नुपर्ने हुन्छ । कतिपय अवस्थामा परिवार वा विद्यालयको वातावरण छल्नसमेत बालबालिकाले मोबाइल, टिभी बढी प्रयोग गर्न थाल्छन्, जुन बिस्तारै लतमा परिणत हुँदै जान्छ । र, व्यावहारिक समस्या देखिन थालेपछि यो लत एकैचोटि हटाउन सकिँदैन । अचेल कतिपयले पुनस्र्थापना केन्द्रमा समेत पठाउन थालेका छन् । तर, केही समयपछि पुनः सोही अवस्थामा फर्किने हुन्छन् । तसर्थ, काउन्सिलिङ र थेरापीबाटै ठिक गर्न सकिन्छ ।

बालबालिकामा व्यवहारमा परिवर्तनका लक्षण देखिन थालेमा सुरुवातमै यस्तो समस्या के कारणले भइरहेका छन् भन्ने छुट्याउनुपर्छ । अत्यधिक स्क्रिनको प्रयोगका कारण एन्जाइटी वा डिप्रेसन भएमा काउन्सिलिङ र औषधि प्रयोगमा ल्याउनुपर्ने हुन्छ । तर, यस्ता समस्याको उपचार थेरापी र आवश्यक परामर्श नै प्रमुख हो । स्क्रिनको अत्यधिक प्रयोग र यसको लत एकैचोटि निम्तिने समस्या होइन । यो समाचार आजकाे नयाँ पत्रिकाले छापेको छ ।