रवि लामिछाने अझै १३ दिन थुनामा रहनु पर्ने

पाेखरा । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराधको कसूरमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ।

कास्की जिल्ला अदालतकान्यायाधीश नवराज ओझाको एकल इजलासले  फेरि १३ दिन म्याद थपेको हो । अब रवि अझै १३ दिन प्रहरी हिरासतमा रहनेछन्।

उनीसँगै नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी,लीला पछाईं र पूर्वसंचालक रामकुमार खनाललाई पनि हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति प्रदान गरेको छ।

रविलाई प्रहरीले असोज २ गते काठमाडौंमा पक्राउ गरेको थियो। अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो।

उनीविरुद्द रुपन्देही प्रहरीले पनि पक्राउ पूर्जी जारी गरेको छ। कास्की प्रहरीले यहाँको अनुसन्धान सकेपछि पूरक अनुसन्धानको लागि रविलाई बुटबल पठाउने जानकारी दिएको छ।