कावासोती, कात्तिक २६ गते । नवलपुरमा ३ सय ४० जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार एक सय ८३ जना पुरुष र एक सय ५७ जना महिलामा डेंगु देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा एक सय १८ जनामा डेंगु देखिएको छ । त्यस्तै देवचुली नगरपालिकामा ६८, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा ५५, मध्यविन्दु नगरपालिकामा ३८ जनालाई डेंगु संक्रमण भएको छ ।
त्यस्तै विनयी त्रिवेणी गाउँपालिकामा ३६, हुप्सेकोट गाउँपालिकामा १९, बौदिकालीमा ४ र बुलिङटार गाउँपालिकामा २ जनामा संक्रमण देखिएको तिवारीले जानकारी दिए । । यसअघि डेंगु नदेखिएको बौदिकालीमा पहिलो पटक डेंगु देखिएको हो । योसँगै जिल्लाका सबै पालिकामा डेंगु फैलिएको छ ।
नारायणघाट–बुटबल सडक खण्डले छोएका पालिकाहरुमा बढी डेंगु देखिएको छ । सडक विस्तारको क्रममा चिनीयाँ ठेकेदार कम्पनीले समयमै काम नसक्नु र सडक खाल्डाखुल्डी पारेर छोडेकाले तीनै खाल्डाखुल्डीमा जमेको पानीका कारण डेंगु बढि देखिएको गैडाकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले बताए ।
‘राजमार्गमा रहेका खाल्डाखुल्डीमा पानी जमेका कारण डेंगु बढी देखिएको छ, त्यसलाई नियन्त्रण गर्नका लागि विद्यालय र समुदाय स्तरमा सचेतना कार्यक्रम गरिरहेका छौं, आचार्यले भने ।
डेंगुको लक्ष्ण देखिने वित्तिकै सबैले परीक्षण नगराउने र कतिपयले चितवन र केही नीजि मेडिकलहरुमा परीक्षण गराउने गरेको र त्यो तथ्यांंक स्वास्थ्य कार्यालयमा समावेश नुहने गरेको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ । त्यो तथ्यांकसमेत जोड्दा संक्रमितको संख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयले लामखुट्टेको वासस्थान नष्ट गर्न, पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र नियमित स्वास्थ्य परीक्षण गर्न सबैसित अनुरोध गरेको छ ।
डेंगुबाट जोगिन के गर्नु ? हेर्नुहोस् भिडियो