कुवेतविरुद्ध कप्तान पूजा चौधरीको कीर्तिमानी प्रदर्शन

युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कप एसिया छनोटमा कप्तानको सहयोगमा नेपालले कुवेतमाथि सानदार जित दर्ता गरेको छ ।

नेपालले कुवेतलाई मंगलवार १ सय ६५ रनले पराजित गर्यो । २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा अल आउट हुँदै ४८ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि कप्तान जिफा जिलानीले ४२ बलमा ३६ रन बनाउन काहे अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् । कुवेतका ८ खेलाडीले रनको खाता खोल्न सकेनन् ।

नेपालका लागि कप्तान पूजाले ४ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन् । रचना चौधरी र सिमाना केसीको नाममा समान २ विकेट रह्यो ।

त्यसअघि युएईको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको विशाल योगफल तयार गर्यो ।

प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १ सय ३० रन बनाइन् । पूजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरेकी थिइन्।

प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा कुनै पनि खेलाडीले शतक‌ पूरा गरेको यो पहिलो पटक हो ।

यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतवार कुवेतविरुद्ध नै युएईकी लाभन्या केन्याले बनाएकी थिइन् । उनले ९९ रन बनाएकी थिइन् ।

पूजाको शतक नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा बनेको दोस्रो शतक हो । गत फेब्रुअरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुविना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिइन् । यू १९ महिला क्रिकेटमा भने पूजाको शतक नै पहिलो शतक हो । रुविनाले सोहि खेलमा ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।

सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन बनाइन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ