मारुनी संरक्षण गर्दै पुस्तान्तरणको प्रयास (भिडियोसहित)

बोमलाल गिरी, नवलपुर, मङ्सिर १ गते ।  युवापुस्ताले चासो नदिँदा परापूर्वकालदेखि चल्दै आएको मारुनी नाच सङ्कटमा पर्न थालेपछि नवलपुरको पहाडी क्षेत्रमा पाका पुस्ता युवा समेटेर यसको संरक्षणमा जुटेका छन् ।

युवापुस्ता अध्ययन तथा रोजगारीका लागि कतिपय गाउँबाहिर र कोही देशबाहिर जाने क्रम बढेपछि पाका पुस्ताले मारुनी नाचलाई पुस्तान्तरणको प्रयास गरेको हो । नवलपुरको बुलिङटार–४, देउरालीका पाका पुस्ता युवाको समूह बनाई मारुनीको संरक्षण गर्न जुटेको हो ।

मारुनी नाचका अगुवा बुलिङटार–४ का मनवीर पुलामी उमेरले ५६ वर्ष कटिसके तर उनको मारुनी नाच्ने र गाउने मोह भने युवापुस्ताकै जस्तो छ । उनी युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन पुग्छन् । आफूले जानेबुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँदै पुलामीले गाउँमा रहेका युवालाई पनि आफूसँगै लिएर हिँड्ने गरेको बताउँछन् । १८ वर्षको उमेरदेखि मारुनी नाच्न सिकेका पुलामीले पुराना पुस्ताको सहयोगमा युवापुस्तालाई सिकाउने गरेका ५न् । गाउँमा उनको अगुवाइमा मारुनी नाच समूह गठन गरिएको छ ।

हेर्नुहोस् भिडियो

चाडपर्व तथा पारिवारिक हर्षबढाइँमा उनकै नेतृत्वको समूहले गाउँमा मारुनी नाचलाई निरन्तरता दिँदै आएको छ । गाउँमा मारुनी नाच देखाउँदा ७० देखि ८० जनासम्म सहभागी रहने स्थानीय जमानसिंह अस्लामी मगरले बताए ।

विगतका वर्षमा मारुनी नाचमा युवा सहभागिता निकै कम हुने भए पनि अहिले मारुनी देखाउने समूहमा युवापुस्ताको बाक्लो सहभागिता हुने गरेको मगरको भनाइ छ । “पोहोरपरार ७०/८० जनामा मुस्किलले १५/२० जना युवा हुन्थे, बिस्तारै यो सङ्ख्या बढ्न थालेको छ । अहिले आधाआधी सङ्ख्यामा युवापुस्ता सहभागी हुन्छन्,” मगरले भने ।

देउरालीको यो मारुनी नाच समूह आजकल आफ्नो गाउँमा मात्र नभई छिमेकी गाउँ तथा तनहुँलगायतका विभिन्न जिल्लामा पनि नाच्न जाने गरेको छ । अहिले अर्खला, देउराली, डेढगाउँलगायतका गाउँमा पनि समूह बनाएर मारुनी संरक्षणमा पाका र युवापुस्ता जुटेका बुलिङटार–४ का वडाध्यक्ष मीनबहादुर आलेले बताए ।

मारुनी नाच दसैँ तिहारमा सुरु गर्ने नृत्य भए पनि कतै भने तिजदेखि नै सुरु हुन्छ । प्रायः स्थानमा दसैँको कालरात्रिदेखि यो नाच सुरु हुन्छ । देउरालीका मगर समुदायले दसैँको कालरात्रिदेखि देवीदेवताको पूजा गरेर मारुनी नाच्न सुरु गर्ने गरेको मारुनी नाच समूहका अध्यक्ष पुलामीले बताए ।

उनका अनुसार मारुनीका गीतमा कृष्ण चरित्रको कथालाई गीति लयमा प्रस्तुत गर्ने गरिन्छ । बडादसैँको अष्टमीको कालरात्रिमा सुरु भएर नवमी, दसैँको टीका र टीकाको भोलिपल्टसम्म नाच देखाउने गरिन्छ । लगत्तै तिहारको समयमा तिहारे औँसीको दिनदेखि फेरि मारुनी नाच देखाउन सुरु गरिन्छ । औँसीको दिनभरि गाउँका घर घरमा गएर मारुनी नाच देखाइने र घरबेटीले कात्तिके दान दिने चलन छ ।

मारुनी समूहलाई कात्तिके दान दिए रोगव्याधी नलाग्ने, ग्रह गोचर राम्रो हुने मगर समुदायमा जनविश्वास रहेको अध्यक्ष आलेले बताए । तिहारको टीकाको भोलिपल्टसम्म नाच देखाउने र त्यसपछि गाउँवासीका घरमा हुने पूजाआजा, न्वारन, छेवर, विवाह जस्ता हर्षबढाइँका अवसरमा मारुनी देखाउने गरिएको उनले बताए ।