कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थपेको छ । भीमलाल बेलबासेको इजलासले लामिछानेलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पछिल्लो पटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए । र, त्यस यता उनी हिरासतमा छन् ।
उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ ।