स्तनपान प्रविधि, सही आसन र सम्पर्कहरू

     डा. नरनाथ पाण्डे

पृष्ठभूमि : स्वाभाविक रूपमा हामीलाई थाहा छ कि स्तनधारी प्राणीले बच्चालाई दुध चुसाउँछन् जुन प्राकृतिक नियम हो र स्तनपानबाट बच्चाको वृद्धि विकास हुनुका साथै धर्तीमा आफूलाई जीवित राख्न सक्षम हुन्छन् । यो कुरा मानिसमा समेत लागु हुन्छ । स्तनपान गराउनु प्राकृतिक नियम भएता पनि यसका पक्षका बारेमा मुख्य कुराहरू हामी सबैले बुझ्नु जरुरी छ ।

बच्चालाई स्तनपान गराउँदा आमालाई स्तन क्यान्सर हुने जोखिम कम हुने, बच्चाप्रति माया ममता बढ्ने, बच्चालाई शिशु अवस्थामा चाहिने आवश्यक सम्पूर्ण पौष्टिक तत्वहरू प्राप्त हुने र बच्चालाई रोग विरुद्ध लड्ने क्षमता समेत बढाउन आवश्यक एन्टिबडी प्राप्त हुने, बच्चा अघाएर सन्तुष्ट हुने, उचित वृद्धि विकास हुने, प्रसन्न हुने र तापक्रम मिलेको संक्रमण रहित खाना खान पाउने जस्ता फाइदा पनि हुन्छन् ।

त्यसकारण यस आलेखमा स्तनपान के हो, स्तनपानका विधि के हुन्, यसका फाइदा र विशेषता के छन् र स्तनपान प्रविधि भनेको के हो भन्ने सन्दर्भमा छोटकरीमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

स्तनपान प्रविधि
सामान्यतया प्रविधि भन्नाले कुनैपनि काम गर्दा वा प्रयोग गर्दा अपनाइने खास विधि वा प्रक्रिया भन्ने बुझिन्छ । यदि स्तनपानलाई पनि कहिलेकाहीँ कुनै प्रक्रियामा प्रयोग गरिन्छ भने त्यसलाई स्तनपान प्रविधि भनिन्छ । स्तनपानलाई यदि परिवार नियोजनको साधनका रूपमा प्रयोग गरिन्छ भने त्यसलाई परिवार नियोजनको प्रविधि भनिन्छ ।

हामी सबैलाई सुन्दै अचम्म लाग्न सक्छ कि स्तनपान (Breast feeding) बाट पनि परिवार नियोजन हुनसक्छ वा गर्भ नियन्त्रण गर्न सकिन्छ । सुन्दा अचम्म लागे पनि आज यस आलेखमा चर्चा गर्न थालेको स्तनपान प्रविधिले पनि गर्भ नियन्त्रण हुनसक्छ वा परिवार नियोजनको अस्थायी उपायका रूपमा यसलाई अपनाउन सकिन्छ भन्नु कुनै नयाँ पत्ता लागेको कुरा त होइन तर आम सर्वससाधारणका लागि यो विशुद्ध नयाँ विषयवस्तु चाहिँ हुनसक्छ ।

स्तनपान प्रविधिलाई प्रयोग गरेर यदि परिवार नियोजन वा गर्भ नियन्त्रण गर्नुपर्ने छ भने बच्चा जन्मिएपछि अर्को महिनावारी नहुँदासम्म वा ६ महिनाभित्रसम्म मात्र यो तरिका प्रभावकारी हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ । यस्तो प्रविधिलाई अंग्रेजीमाLAM (Lactational Amenorrhoea Method) पनि भनिन्छ । यसको अर्थ यो विधिले महिलाको महिनावारी चक्रलाई सुत्केरी भएपछि छिटो हुन नदिएर केही पर धकेल्छ र महिनावारी नहुँदासम्म यो विधिले काम गर्छ भन्न खोजिएको हो ।

त्यसो त कुनै कुनै महिलामा भने बच्चा जन्म भएपछि अर्को महिनावारी नहुँदै पुनः गर्भ बसेर अर्को बच्चा जन्मेको समेत पाइन्छ । यसको मतलब यो विधि सबै महिलालाई प्रभावकारी नहुन पनि सक्ने र यो विधिको सफलता दर शतप्रतिशत नहुनु हो । यो विधि कम प्रभावकारी अस्थायी परिवार नियोजनको विधि भित्र पर्दछ । यदि स्तनपान विधिको प्रयोग गरेर गर्भनियन्त्रण गर्ने विचार छ भने सुत्केरी महिलाले निम्न शर्तहरूको पालना गरेर मात्र यो विधि अपनाउनुपर्छ अन्यथा यो विधिले काम गर्दैन ।

̵ यसमा महिलाले आफ्नो बच्चालाई राति र दिनमा समेत गरी कम्तीमा पनि १० पटकसम्म निख्रने गरी दुवै स्तनबाट स्तनपान गराउनुपर्छ ।
̵ बच्चा जन्मेको ६ महिनासम्म बच्चालाई आमाको दुध बाहेक अन्य कुनैपनि पानी वा खाद्यपदार्थ खुवाएको हुनुहुँदैन र केवल स्तनपान मात्र गराएको हुनुपर्छ । यदि बच्चालाई थप खाद्यपदार्थ खुवाउन थालिएको छ भने यो विधि प्रभावकारी हुँदैन ।
̵ सुत्केरी भएको ६ महिनाभित्र यदि महिनावारी भएको छ भने यस्तो विधि प्रभावकारी हुँदैन ।

यसरी माथि उल्लिखित शर्तहरू पूर्णरुपले पालना गरेको अवस्थामा मात्र स्तनपान प्रविधिलाई प्राकृतिक अस्थायी परिवार नियोजन वा गर्भनियन्त्रणको विधि मान्न सकिन्छ तैपनि यस्तो प्रविधि पूर्णरूपमा सफल विधि चाहिँ होइन ।

स्तनपान गराउने विधि र प्रक्रिया
यसपछि हामीलाई अर्को खड्किरहने विषयवस्तु स्तनपान गराउँदा कसरी गराउने, कसरी स्तनपान गराएमा प्रभावकारी दुध चुसाइ हुन्छ र बच्चा हृष्टपुष्ट हुन्छ भनेर जिज्ञासा उत्पन्न हुने गरेको पाइन्छ । स्तनपानका सन्दर्भमा गर्भावस्थामा स्वास्थ्य संस्थामा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले आवश्यक परामर्श दिनुपर्छ र सुत्केरी भएपछि आमाले त्यसलाई प्रयोग गरेमा मात्र त्यो प्रभावकारी हुन्छ । अन्यथा भरखरै सुत्केरी भएकि पहिलो बच्चा जन्माएकि आमालाई त्यो ज्ञान नहुन सक्छ ।

स्तनपान गराउन लाज मान्ने, काउकुती मान्ने, स्तनको टुप्पो दुख्ने, घाउ हुने र कसैको टुप्पो नै दबिएको हुने जस्ता कारणले बच्चालाई राम्रोसँग स्तनपान नगराउँदा बच्चाले आवश्यक मात्रामा दुध खान पाउँदैन । त्यस्तै कसैले दुध ननिस्कने र बच्चालाई नपुग्ने भएकोले गाईभैंसीको दुध वा पाउडर दुध खुवाउने गरेको कुरा पनि गर्छन् ।

यस्तो अवस्थामा बच्चाको तीव्र गतिमा भइरहेको वृद्धि विकास अवरुद्ध हुन्छ र बच्चा कुपोषण हुने, शारीरिक तथा मानसिक विकास राम्रो नहुँदा बच्चाको जीवन नै दुःखदायी हुनसक्छ । यस्तो अवस्था आउन नदिन आमाले स्तनपानको विधि सिक्नुपर्छ र बच्चालाई त्यही अनुसार स्तनपान गराउनुपर्छ । यसका लागि स्तनपानका सही आसन र सम्पर्कका बारेमा सबै परिवार र महिलाले कुरा बुझ्नु आवश्यक छ ।

स्तनपानका सही आसन र सम्पर्कहरू
सही आसनहरू : आमाले आफ्नो स्तनलाई अंग्रेजी सी आकारमा समाउनुपर्छ र सजिलो गरी बस्नुपर्छ । तर धेरैले दुईवटा औंला कैंची बनाएर दुधको मुण्टो समाएका हुन्छन्, यो गलत आसन हो र यसो गर्दा दुधको प्रवाह राम्रो हुँदैन । त्यसपछि निम्न कुरामा ध्यान दिनुपर्छ–

̵ शिशुको शरीर सिधा हुनुपर्छ ।
̵ शिशुको शरीर र मुख आमाको स्तनतिर फर्किएको हुुनुपर्छ ।
̵ शिशुको पेट आमाको पेटसँग टाँसिएको हुनुपर्छ ।
̵ आमाको एक हातले शिशुको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्छ ।

सही सम्पर्कहरू
आमाले आफ्नो स्तनलाई अंग्रेजी सी आकारमा समाउनुपर्छ र स्तन र शिशुको मुखको सम्पर्क यस अनुसार मिलाउनुपर्छ ।
̵ शिशुको मुख पुरा खुलेको हुनुपर्छ ।
̵ शिशुको तल्लो ओंठ बाहिर फर्केको हुनुपर्छ ।
̵ शिशुको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ तर नाक बन्द हुनुहुँदैन ।
̵ स्तनको धेरैजसो कालो भाग बच्चाको मुखभित्र पसेको हुनुपर्छ ।

यसरी उपरोक्त आसन र सम्पर्क मिलाएर बच्चालाई दुध चुसाएमा त्यो प्रभावकारी चुसाइ हुन्छ । अझ प्रभावकारी दुध चुसाइ भए नभएको थाहा पाउन यदि बच्चाले बिस्तारै भित्रसम्म तानेर दुध चुस्दै, केही रोकिँदै, दुध निलेको समेत देखिएको, गाला पुक्क फुलेको वा गोलो भएको देखिएमा प्रभावकारी दुध चुसाइ भएको पक्का हुन्छ ।

आमाको दुधका केही विशेषताहरू
आमाको दुध बच्चाका लागि प्रकृतिले दिएको सबैभन्दा सर्वोत्तम खाद्यपदार्थ हो । अझ सुरुमा आउने बिगौती दुधमा विभिन्न रोगविरुद्ध लड्ने एन्टीबडी हुन्छन्, साथै प्रोटिन, भिटामिन ए तथा अन्य सूक्ष्म पोषक तत्वहरू पनि हुन्छन् । यस्तो दुधले बच्चालाई एलर्जी विरुद्ध लड्ने शक्ति र खाना अपच हुन नदिने शक्ति प्रदान गर्दछ । यसको साथै यस्तो दुधले बच्चाको शरीरबाट बिलिरुविन तत्व पनि निस्कासन गर्न मद्धत गर्ने भएकोले जण्डिस हुन समेत पाउँदैन । बिगौती दुध आउन छाडेपछि आउने दुधका पनि केही विशेषता रहेका छन् ती हुन्–

̵ सुरुमा आउने दुध ९ँयचभ mष्पि०स् यसमा सुरुमा पानीको मात्रा बढी आउँछ, त्यसपछि मात्र प्रोटिन, ल्याक्टोज र अन्य तत्व आउँछ । त्यसकारण यो दुध प्रशस्त खान पाएको बच्चाले ६ महिनासम्म पानी पनि खानुपर्दैन, किनकि यो दुध बढी उत्पादन हुन्छ । यदि एउटै मात्र दुध नखुवाइ पालो गरेर खुवाएमा बच्चाले पानी मात्र खाने हुँदा छिटो भोकाउने, नमोटाउने र कुपोषित हुन्छ । त्यसकारण एउटा दुध राम्ररी निख्रने गरी खुवाउनुपर्छ र अर्को पटकमा अर्को दुध चुसाउनुपर्छ ।

̵ मुख्य पौष्टिक दुध ९ज्ष्लम mष्पि०स् सुरुमा आउने दुध वा पानीको मात्रा बढी भएको दुध सकिएपछि मात्र यो दुध आउँछ, यसमा चिल्लो पदार्थको मात्रा बढी आउने, प्रोटिन, ल्याक्टोज र अन्य पदार्थ समेत आउँछ । यो दुध सेतो हुन्छ । यदि राम्रोसँग एउटै दुध निख्रने गरी बच्चाले दुध चुसेमा पछिबाट बढी पौष्टिक दुध प्राप्त हुन्छ र बच्चा राम्ररी अघाइ सुत्छ, यस्तो दुध खान पाएको बच्चा कुपोषित हुन पाउँदैन ।
यसरी दुध खान पाएको बच्चाले स्तनपानबाट निम्न अनुसार शक्ति प्राप्त गर्दछ–

̵ जन्मेदेखि ६ महिनाको उमेरसम्मका बच्चालाई लगातार स्तनपान गराइरहेमा बच्चालाई चाहिने सम्पूर्ण शक्ति आमाको दुधबाटै प्राप्त हुन्छ ।

̵ छ महिनादेखि १२ महिनासम्मका बच्चालाई लगातार स्तनपान गराइरहेमा बच्चालाई चाहिने शक्तिको आधा भाग आमाको दुधबाट र बाँकी आधा भाग शक्तिको लागि पुरक वा थप खाना खुवाउनु पर्छ ।

̵ १२ महिना देखि २४ महिनासम्मका बच्चालाई लगातार स्तनपान गराइरहेमा बच्चालाई चाहिने शक्तिको ३ भाग मध्ये १ भाग शक्ति आमाको दुधबाट र बाँकी २ भाग शक्ति पूरा गर्न पुरक खाना खुवाउनै पर्छ ।

दुध उत्पादन नहुने वा उत्पादनमा कमी हुने कारणहरू
̵ यदि बच्चाले धेरैपटकको चुसाइमा पनि दुध ननिखारेमा दुध उत्पादनमा कमी आउँछ, किनकि स्तनमा दुध बाँकी रहँदा दुध उत्पादनमा बाधा उत्पन्न हुन्छ ।
̵ आमाको मनोभावना (डराउनु, चिन्तित हुनु, दुख्नु, लाज मान्नु) ले पनि दुध निस्कासनमा बाधा उत्पन्न हुन्छ ।
̵ आमा कुपोषित हुनु, खाना नरुच्नु, बिरामी पर्नु, स्तनमा खटिरा आउनु, कुनैकुनै औषधीको सेवन गर्नु, प्रोटिन र क्याल्सियमयुक्त खाद्यपदार्थ नखानु, सन्तुलित खाना नखानु, झोलिलो पदार्थ नखानु जस्ता आदि कारणले दुध उत्पादनमा समस्या हुन्छ ।

अन्तमा, यदि आमाको स्तनमा दुधको मात्रा अपुग हुनेगरी कम मात्रामा उत्पादन हुन थालेमा विशेष होशियारी अपनाइ आमालाई सही आसन र सम्पर्कका बारेमा आवश्यक परामर्श गर्ने, घरपरिवारले सहयोग गरी सुत्केरी महिलालाई प्रशस्तै झोलिलो पदार्थ, ज्वानोको झोल, दालको रस, माछामासुको रस, फलफूल, सागपात, पानी, दुध तथा सन्तुुलित आहार खुवाउनुपर्छ ।

त्यस्तै, बच्चालाई आमाले स्याहार गर्ने, मुसार्ने, सँगै राख्ने, माया गर्ने गर्दा पनि दुध उत्पादन हुनसक्छ र यस्तो व्यवस्था परिवारले मिलाउनुपर्छ । अन्यथा स्तनमा समस्या भए वा दुध उत्पादनमा समस्या भए बेलैमा स्वास्थ्य संस्थामा लैजाने र चिकित्सकको परामर्शबाट केही औषधी पनि खानुपर्ने हुनसक्छ । यसका साथै उपयुक्त तरिका अपनाइ दिइएका शर्तहरू पालना गर्नसके यसबाट केही समय गर्भ नियन्त्रण पनि हुनसक्छ । अस्तु
– लेखक कावासोती मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् ।

लेखकबाट थप:

युरिक एसिडको समस्या र बच्ने उपायहरू

प्रधानमन्त्री ओलीलाइ प्रश्न : फाइल खोल्ने आँट छ ?

आशङ्काको घेरामा गठबन्धन

रक्तदानको महत्व

नवलपुरदेखि कोरोलासम्म : एक यात्रा अनुभूति