कावासोती, मंसिर १४ गते । नवलपुरको देवचुली नगरपालिका प्रगतिनगरमा अव वर्षाको समयमा पनि खानेपानीको समस्या नहुने भएको छ । बोरिङ नहुँदा वर्षाको समयमा अनियमित र धमिलो पानीको समस्या भोगिरहेका यहाँका उपभोक्ता अव यो समस्याबाट मुक्त हुने भएका हुन् ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले देवचुली नगरपालिका –७ मा बोरिङ निर्माण गरेपछि वर्षामा हुने खानेपानीको समस्या समाधान हुने बताइएको छ । सिताबासमा प्रदेश सरकार उर्जा तथा जलस्रोत मन्त्रालयको २० लाख लागतमा बोरिङ्ग निर्माण गरेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिए ।
अध्यक्ष भुसालका अनुसार यहाँ प्रतिसेकेण्ड २० लिटर पानी प्रवाह हुनेगरी बोरिङ्ग निर्माण गरिएको छ । बर्षाको समयमा देउसत खोलामा आउने बाढीले गर्दा पानीको आपूर्ति बेलाबेलामा अनियमिता हुने र पानी धमिलो पनि हुनेभए पनि अबदेखि त्यो समस्या हट्ने अध्यक्ष भुसालले बताए ।
देउसत खोलामा बाढी आउँदा उक्त पानी सोझै फिल्टर प्लान्टमा जोड्न नमिल्ने हुँदा बर्षाको बेला कहिलेकाँही प्रगतिनगरमा पिउने पानीको समस्या हुँदैआएको थियो । प्रगतिनगर खानेपानीले यहाँ ५४ सय बढी घरधुरीमा धारा जडान गरी ३० हजार बढी उपभोक्तालाई शुद्ध पिउने पानी उपलब्ध गराउँदै आएको छ ।
अब उक्त बोरिङबाट ढिलोमा १५ दिनमा पानी आपूर्ति गर्न मिल्ने अध्यक्ष भुसालले बताउनुभयो । प्रगतिनगर खानेपानीले अहिले देउसत खोलाको मुहानको पानीका साथै प्रगतिनगरका विभिन्न स्थानका ५ वटा बोरिङ्गमार्फत पिउने पानी उपलब्ध गराउँदै आएको छ ।
२०७८ सालमा प्रगतिनगर खानेपानी उपभोक्ता संख्यालाई नेपाल सरकारले देशभरकै उत्कृष्ट खानेपानी संस्थाको रुपमा सम्मान गरेको थियो ।
हेर्नुहोस् भिडियो