नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भन्दै धम्की दिने एक व्यक्ति ‘भाइरल म्यान’ दुर्गा प्रसाद प्रसाईंको कार्यकर्ता रहेको खुलेको छ ।
भारतीय र दुबईको फोन नम्बरबाट फोनकल तथा मेसेज मार्फत् फिरौती माग्ने व्यक्ति पक्राउ परेपछि यो रहस्य खुलेको हो ।
पक्राउ पर्नेमा पाँचथर साबिक मौवा गाविस वडा नं. ६ घर भई हाल जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नं. १३ चारआली बस्ने वर्ष ३६ को नवीन प्रधान भन्ने हरिचन्द्र फुयाँल हुन् ।
उनले व्यवसायी दुर्गा प्रसाद प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने धम्की दिई व्यवसायीहरूलाई आतंकित पारेका थिए ।
बुधबार बेलुका झापा, मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
पक्राउपछि प्रारम्भिक अनुसन्धान गर्दा उनले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरुलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईको निर्देशनमा गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनी यसअघि पनि विभिन्न कसुरमा संलग्न भई फरार रहेको खुलेको प्रहरीले जनाएको छ ।