नवलपुरमा एचआइभी संक्रमणबाट ८ जनाको मृत्यु, १४४ जनामा सङ्क्रमण

नवलपुर, मंसिर १६ गते । नवलपुरमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ४४ जनालाई एचआइभी एड्स संक्रमण देखिएको पुष्टि भएको छ । ११ जना नवलपुर बाहिरका व्यक्ति हुन् ।

गत कात्तिक मसान्तसम्म एआरटी (एन्टी रेट्रो भाइरल) सेन्टर चोरमारामा एक सय ४४ जनालाई एचआइभी संक्रमण लागेको विवरण दर्ता भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै मध्यविन्दु नगरपालिकामा ४८ जना संक्रमित छन् । त्यसैगरी कावासोती नगरपालिकामा ३४, हुप्सेकोट गाउँपालिकामा १४, विनयी त्रिवेणीमा १०, देवचुलीमा २ र गैँडाकोटमा एक जनालाई एचआइभी संक्रमण देखिएको छ ।

त्यस्तै स्थायी ठेगाना चितवन लेखाएका ४, पाल्पाका ४, रुपन्देहीका ३ र तनहुँका एक जनामा पनि संक्रमण देखिएको छ । टेक्निसियन निरीक्षक तिवारीका अनुसार आफ्नो जिल्लामा परीक्षण गर्दा गोपनीयता भंग हुने डरले अन्य जिल्लामा गएर परीक्षण गराउने गरिएको छ ।

संक्रमितमध्ये ६३ जना पुरुष, ५६ महिला र २ जना तेस्रो लिङ्गी छन् । ९ जना स्थानान्तरण भई अन्यत्र गइसकेका छन् । ६ जनाले औषधी सेवन गर्न छोडेका छन् । अहिलेसम्म ७ पुरुष र एक महिला गरी ८ जनाको एचआइभी संक्रमणबाट मृत्यु भएको तिवारीले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा पत्ता लगेका १२ जना संक्रमितमध्ये दुई जना १५ वर्ष मुनिका बालबालिका रहेको कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको गत असारसम्मको तथ्यांकअनुसार गण्डकी प्रदेशमा दुई हजार ८२५ जनामा संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै कास्कीमा एक हजार ४२६ जना संक्रमित छन् । त्यस्तै स्याङजनामा तीन सय ८०, तनहुँमा दुई सय ५९, गोरखामा दुई सय ३०, बागलुङमा एक सय ८८, लमजुङमा एक सय २२, म्याग्दीमा ९२ र पर्वतमा ८० जना संक्रमित छन् ।

तिवारीका अनुसार भारतसँगको खुल्ला सीमाना, बैदेशिक रोजगारीबाट फर्केकाहरु, ड्रग्स र सुई प्रयोगकर्ता, तेस्रो लिङ्गी र पुरुष–पुरुषबीच यौन सम्पर्क गर्नेहरुमा संक्रमण महामारीको रुपमा देखिएको छ । तर सामान्य मानिसमा भने यो संक्रमण एक प्रतिशतभन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०३० को अन्त्यसम्म विश्वमा ८ करोडा ८४ लाख मानिस संक्रमित भएका छन् भने ४ करोड २३ लाखले ज्यान गुमाएका छन् । सन् २०२३ मा मात्र विश्वभर १३ लाख संक्रमित भएका छन् । डब्लुएचओका अनुसार विश्वमा हरेक दिन ३ हजार ६ सय नयाँ संक्रमित थपिइरहेका छन् ।