नवलपुर, मंसिर १७ गते । नवलपुरमा सडक दुर्घटना भइ अकालमा ज्यान गुमाएकाहरुका लागि पितृ उद्धार, एकदिने स्वस्ति शान्ति, भागवत पाठ पारायण तथा लक्ष्य बर्ति प्रज्वलन गरिएको छ । लालिगुराँस आमा समूहको आयोजनामा दुर्घटना ग्रसत क्षेत्र कावासोतीको खरकट्टा जंगलमा शान्ति पाठ आयोजना गरिएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर सडक खण्डमा दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माको शान्तिको कामना तथा आगामी दिनमा दुर्घटनामा कसैले ज्यान गुमाउन नपरोस् भनेर स्वस्ति शान्ति गरिएको लालिगुराँस आमा समूहकी अध्यक्ष गीता अर्यालले जानकारी दिइन् ।
यो सडकमा अत्याधिक दुर्घटना हुने गरेकाले यात्राको क्रममा ज्यान गुमाएका देशभरका नागरिकको आत्माको चिर शान्तिको लागि र फेरी दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर कार्यक्रम गरिएको अर्यालले बताइन् ।
एक वर्षअघि चौधरी उद्योग ग्राममा काम गरी फर्कने क्रममा सोही ठाउँमा दुर्घटनामा पछि छोरो तीथराजलाई गुमाएकी खेमकुमारी देवकोटाले छोराको आत्माले शान्ति पाउने र अव कसैले पनि दुर्घटनामा ज्यान नगुमाउन परोस भनेर पूजाआजा गरेको बताइन् ।
पण्डित नारायण प्रसाद शर्मा भुर्तेलले दुर्घटना रोक्न यसरी कार्यक्रम गर्नु धार्मिक आस्थाका साथै कतिपय अवस्थामा दुर्घटना पनि कम हुने गरेको बताए ।
‘‘जतिपनि प्रेतहरुबाट मुक्ति पाउन भागवत गरिन्छ, सात दिन लगाएर गरिने सप्ताह जस्तै ११ जना ब्राहमतद्धारा भागवत गरिएको छ, पण्डित भुर्तेलले भने, ‘‘भागवत भनेको मोक्षदाता हो, अष्टशक्तिसहित भगवान नारायणको पूजा गरिएको छ । जतिपनि आत्माहरु दिवंगत भएर भड्किरहेका छन् । यस्ता कार्यक्रमले ती सबैको मुक्ति हुनेछ ।’’