चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । प्रारम्भिक जानकारी अनुसार जिल्ला सभापति कृष्ण भुसाल सहित १० जना घाइते भएका छन् ।
रविका समर्थकले लामिछाने निर्दोष रहेको र राजनैतिक पूर्वाग्रहका कारण थुनामा रहेकाले निःशर्त छाडिनुपर्ने माग राखेर प्रदर्शन गरेका थिए । उता जिल्ला समन्वय समिति अगाडि निस्किएको सहकारी पीडितहरुको र्याली भने लामिछानेसहितका सहकारी ठगी आरोप लागेकाहरुलाई कारबाहीको माग गरेका छन् ।
सहकारी पीडित र रवि समर्थकहरुको भेट नहोस् भनेर प्रहरीले सतर्कता अपनाएको छ । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन प्रदर्शनकारीहरुलाई पानीको फोहोरा हानेको छ ।
लामिछानेलाई मङ्गलबार बयानका लागि चितवन ल्याइएको चितवनका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । लामिछानेको बयान दोस्रो दिन पनि जारी छ ।
चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक मङ्सिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पूरक जाहेरी दिएका थिए। मङ्सिर ७ गते चितवनमा पक्राउ पुर्जी जारी गरिएको थियो ।