बोमलाल गिरी
नवलपुर, मंसिर २१ गते। भारतको बिहारमा मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएपछि नवलपुरको सीमावर्ती क्षेत्रमा मदिरा व्यावसाय फस्टाउँदै गएको छ। जिल्लाको सीमावर्ती ग्रामीण क्षेत्रका बजारदेखि सहरी क्षेत्रका मदिरा पसलमा समेत मदिरा व्यवसाय फस्टाएको स्थानीय व्यापारीले बताएका छन्।
सीमावर्ती क्षेत्रमा बिहानैदेखि मदिरा सेवन गर्न आउनेको चहलपहल हुने गरेको विनयी त्रिवेणी गाउँपालिका ६ का रामजी यादवले बताए । यसरी मदिरा सेवन गर्न आउने अधिकांश भारतीय नागरिक हुन्। भारतीय ग्राहकका कारण सीमा क्षेत्रका निम्न र मध्यमवर्गाीय नेपालीले सञ्चालन गरेका साना होलल तथा रेष्टुरेन्टमा भिडभाड हुने गरेको यादवको भनाइ छ।
गुल्मीबाट आएर नेपाल भारत सीमानाको भैसालोटनमा होटल सञ्चालन गरिरहेकी भिमु पचभैयाले भारतमा मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएकाले भारतीय ग्राहकहरुको राम्रै उपस्थिती हुने गरेको बताइन्। धेरैजसो भारतीय माछा र मदिरा खान आउने गरेको उनले सुनाइन् । ‘‘कहिले धेरै आउँछन्, कहिले थोरै, भोलीपल्ट बिदा परेको दिन भिडभाड नै हुन्छ,’’ पचभैयाले भनिन्, ‘‘खेतीपाती छैन, यही होटलबाटै खाने, बालबच्चा पढाउने काम भइरहेको छ, जेहोस् सन्तोषजनक छ।’’
भारतबाट मदिरा सेवनका लागि भैसालोटन आएका रुष्टम अलीले बिहार सरकारले मदिरा सेवन र बिक्रिवितरण गर्न प्रतिवन्ध लगाएकाले बाध्य भएर नेपाल आउन परेको बताए । ‘‘लत लागेपछि खानै पर्यो, धन्न खुल्ला सीमाना छ र सहजै यता आएर खान पाइन्छ,’’ अलिले भने । बिहार र उत्तरप्रदेशका धेरै भारतीय पर्यटक बनेर नेपाल आइ मदिरा पिएर फर्कने गरेको अलिले बताए ।
पहिले खाली रहने मदिरा पसलमा आजभोलि बिहानैदेखि भारतबाट मदिरा सेवन गर्नेहरुकै बढी भिड लाग्ने गरेको उनको भनाइ छ। निम्न वर्ग र मध्यम वर्गीयहरु ग्रामीण क्षेत्रका साना होटलहरुमा बढी जाने गर्छन् भने हुने खाने मोटरसाइकल र जिप नै लिएर यहाँका ठुला सुविधा सम्पन्न होटल तथा रेसटुरेन्टमा मदिरा पिउन आउने गरेको स्थानीयको भनाइ छ।
भारतीय सवारी साधनलाई छुट पुर्जि मात्रै लिएर प्रवेश गर्न पाउने भएकाले यहाँ मात्र नभइ नेपाल भारत सीमामा रहेका प्राय सबै साना तथा ठुला होटलमा मोटर साइकल, तीन पांग्रे गाडी, स्कारपियो र वोलेरो लिएर नेपाल आइ मदिरा सेवन गर्नेको संख्या उल्लेख्य हुने गरेको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले भारततर्फ मदिरा बोकेर जाने माथि निगरानी बढाए पनि खाएर जानेहरुलाई धेरै महत्त्व नदिएपछि मदिरा पिउन आउनेको संख्या बढेको स्थानीय व्यावसायीहरुको भनाइ छ। यो क्षेत्रमा अहिलेसम्म मदिरा सेवान गरे झैझगडा भने नभएको पचभैयाले बताइन् ।