आसन ग्रहणमा मर्यादाक्रम मिचिएको भन्दै नेताहरुको जुहारी (भिडियोसहित)

बोमलाल गिरी
नवलपुर, मंसिर २३ गते ।

कार्यक्रम थियो, गैँडा संरक्षण समन्वय समितिको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा भएको एक दिने कार्यशाला गोष्ठी । उद्घोषकले प्रमुख अतिथिको रुपमा संविधान सभा सदस्य कृष्णप्रसाद पौडेलको नाम बोलाए । विशेष अतिथि थिए प्रतिनिधि सभाका पूर्व सदस्य तिलक महत । अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य बिन्दु पहाडी । अन्य पनि थुप्रै अतिथिहरु थिए ।

तर जव अतिथिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गण्डकी प्रदेश सभा सदस्य विन्दु पहाडीको बोल्ने पालो आयो, उनले सुरुमै गम्भीर असहमति मात्र जनाइनन्, आयोजकले आफूलाई अपमान गरेको आरोप लगाउन समेत भ्याइन् ।

‘‘तपाईहरुले नियम मिच्न पाउनुहुन्न, मर्यादाक्रम मिच्न पाउनुहुन्छ । यसरी मर्यादा मिचेपछि कसरी जनताका प्रतिनिधिहरु तपाईहरुको कार्यक्रममा आउँछन् ? निर्वाचित मननीय हुँदाहुँदै कुनै दलको उम्मेदवार भनेर कार्यक्रम गर्न थालियो भने त्यसले के सन्देश दिन्छ ?’’ आक्रोस पोख्दै पहाडीले भनिन् ।

आफूहरु नियम बनाउन हिडेको बहालवाला माननीय भएको भन्दै सांसद पहाडीले भनिन्, ‘‘अपमान गर्न पाइदैन, नियम मिचेको ठाउँमा माननीय बस्दैन ।’’ यति भनेर सांसद पहाडी जुरुक्क उठेर हिड्न थालेपछि प्रमुख अतिथिको रुपमा रहेका संविधान सभा सदस्य पौडेलले उठेर पहाडीलाई रोके र मोवाइलमा संविधान हेरेर देखाउँदै सम्झाउने प्रयास गरे ।

‘‘तपाईले जुन प्रश्न उठाउनुभयो, त्यो विषयमा सबै प्रष्ट हुनु व्यवहारिक हुन्छ, संविधानले भन्छ….’’

पोख्रेलको कुरा टुंगिन नपाउँदै पहाडीले थपिन्, ‘‘तपाई बहालवाला सांसद हो र ? संविधान मसँगै छ । मैले पनि पढेकी छु ।’’

‘‘ठिक छ तपाईले संविधान पढ्नु भएको छ । मैले छैन भनेको छैन । तर संविधान सभा सदस्य र संसद अलग कुरो हो,’’ पौडेलले थपे, ‘‘संसदको निर्वाचन पटक पटक हुन्छ, संविधान सभा चुनाव एक चोटी हुन्छ, कारणवस हाम्रोमा दुई पटक भयो । संविधान सभा सदस्यले सेवा सुविधा लिँदैन तर पद आजिवन रहन्छ । संविधान सभा सदस्यको लोगो हुन्छ, आज मैले नलगाइ आएको छु ।’’

‘‘ठिक छ पर्सी शाशांक कोइरालाको अगाडि तपाई सिनियर ।’’ पहाडीले पोख्रेलमाथि व्यङग्य गर्दै भनिन्, ‘‘यस्तो कुरा पनि हुन्छ, संविधान त मैले बुझ्या छु नि ।’’

हेर्नुहोस् भिडियो

उनीहरुबीच यो विषयमा लामै बहस चल्दै थियो, कार्यक्रमका अध्यक्ष, राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका, गैँडा संरक्षण समन्वय समितिका संयोजक विष्णु अधिकारीले हस्तक्षेप गरे । र कांग्रेसले गरेको कार्यक्रममा यस्तो नहुने तर एमाले नेताहरु भएको कार्यक्रममा मर्यादाक्रम मिन्ने काम दोस्रो पटक भएको आरोप लगाउँदै सांसद पहाडी भने कार्यक्रमबाट बाहिरिइन् ।

यस्तो छ मर्यादाक्रम
पौडेल र पहाडीबीच भएको विवाद मर्यादाक्रममा संविधान सभा सदस्य र वर्तमान प्रदेश सभा सभा सदस्य को अगाडि भन्ने हो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम गृहमन्त्रालयले नै निर्धारण गरेको छ । जसमा मर्यादाक्रमको १०औं नम्बरमा अन्य व्यक्तिसहित संविधान सभाका सदस्यलाई राखेको छ भने प्रदेश सभाका वर्तमान सदस्य ११औं नम्बरमा रहेका छन् ।

तर सांसद पहाडीले उठाएको एउटा प्रश्नमा भने मर्यादाक्रममा स्पष्ट देखिदैन । त्यो के भने, संविधान सभा सदस्य कृष्णप्रसाद पौडेल २०७९ को प्रतिनिधि सभामा निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर कांग्रेसका डा शशांक कोइरालासँग पराजित भएका थिए ।

यस्तो अवस्थामा उनको संविधान सभा सदस्यको पद यथावत रहने वा पराजति उम्मेदवार भएकाले नरहने भन्ने स्पष्ट व्यवस्था नहुँदा दुई नेताबीच चलेको जुहारीमा कुन सहि, कुन गलत भनेर भन्न नसकिने कार्यक्रममै सहभागि सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए ।