बोमलाल गिरी
नवलपुर, मङ्सिर २४ गते । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट थप चारवटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर (सौराहा) लैजाने तयारी गरिएको भन्दै यहाँका सरोकारवाला एक ठाउँमा उभिएर प्रतिवाद गर्ने भएका छन् । आइतबार यहाँका सबै सरोकारवालाले एक दिने कार्यशाला गोष्ठि गरी गैँडा स्थानान्तरा आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।
उनीहरुले गैँडा यहाँको गहना भएकाले संरक्षणका लागि आवश्यक सबै पहल गर्ने प्रतिवद्धता समेत जनाए । सन् २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरी पूर्वी सेक्टर लैजान सिफारिस गरेको थियो । त्यहीअनुसार ६ वटा गैँडा गत वर्षको चैतमै स्थानान्तरण गरी पूर्वी सेक्टर लगिएको छ । थप चारवटा गैँडा स्थानान्तरणको तयारी भएपछि यहाँका सरोकारवाला जुर्मुराएका हुन् ।
देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले गैँडा स्थानान्तरण यहाँका जनताको हितमा नहुने भन्दै स्थानीय सरकार प्रमुखको हैसियतले निकुन्जले त्यसो नगरोस भन्ने चेतावनी दिए । ‘‘गैँडा स्थानान्तरण सम्पदा, संरक्षण, समुदाय, राष्ट्र र राष्ट्रियताको हितमा छैन, संरक्षणको जिम्मा हामी लिन्छौं । कुनै प्रश्न उठ्ने ठाउँ दिनेछैनौं,’’ न्यौपानेले भने ।
गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त श्रेष्ठले गैँडा मात्र होइन जरायो, बँदेल लगायतका जंगली जनावर पटक पटक बारीमा छिरेर किसानको बाली नष्ट गर्ने गरेपछि मेस जाली लगाएर संरक्षण गर्न सफल भएको बताए । यो वर्ष पनि थप बजेट विनियोजन गरेकाले स्थानीय सरकार यहीँ गैँडा संरक्षणका लागि प्रतिवद्ध रहेको उनको भनाइ छ ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले गैँडासँग जोडिएको पर्यापर्यटन नवलपुरको जीवनलाई समृद्ध बनाउने आधार भएको भन्दै स्थानान्तरण आवश्यक नभएको बताए । गैँडा यहाँका होमस्टे, पर्यटन उद्योग, कृषि तथा मानवीयन जीवनसँग जोडिएको विषय भएको उनको भनाइ थियो ।
संरक्षणकर्मी प्रेम शंकर मर्दनीयाले गैँडा राष्ट्रियता र देशको पहिचान भएको भन्दै नवलपुरको गैँडाकोटदेखि त्रिवेणीसम्म प्रयाप्त सामुदायिक वन भएकाले गैँडाको प्रजननका लागि यो क्षेत्र उपयुक्त ठाउँ भएको बताए । घाँसे मैदानसहितको पर्याप्त आहार, चिसोठाउँ, पानीको पर्याप्तता तथा हरेक हिसावले पश्चिम सेक्टर सुरक्षित स्थान भएकाले यहाँबाट गैँडाबाट स्थानान्तरण अनावश्यक रहेको तर्क गरे ।
“शुक्लाफाँटा, बर्दिया, कोशीटप्पु तिर त्यहाँको पर्यापर्यटन पवद्धन गर्नको लागि वन्यजन्तु वासस्थान, चिसो तथा घाँसे मैदानको व्यवस्थापन गरेर उसको वासस्थानका आधारमा लैजान सकिन्छ,” मर्दनीयाले भने, “तर यत्रो रकम खर्च गरेर नवलपुरबाट चितवन स्थानान्तरण गर्नु उपयुक्त होइन, यो त जोडिएको ठाउँ हो, १५ दिनमा गैँडा हिँड्दै यही आइपुग्छ । त्यसैले स्थानान्तरण सादर्भिक देखिदैन ।”
डिभिजन वन कार्यालयका प्रमुख बसन्त केशव अधिकारीले गैँडाले कृषि बालीमा नोक्सान गर्दा कृषि ज्ञान केन्द्रले क्षतिपूर्ति दिने गरेको, मान्छेलाई घाइते बनाएमा दुई लाख रुपियाँ र औषधी उपचारमा लाग्ने सम्पूर्ण खर्च तथा मृत्यु भएमा १० लाखसम्म सरकारले राहात दिने गरेको जानकारी दिए ।
वन कार्यालयले योवर्ष चारवटा मध्यवर्ती वनमा ८० लाख रुपैयाँ खर्च गरेर मेस जाली लगाउन लागेको अधिकारीले बताए । तीनै तहका सरकारले पनि गैँडा प्रवेश गर्ने नाकामा रकम विनियोजन गरेमा मानिस र जनवरबीचको द्धन्द्ध कम हुने अधिकारीको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज अमलटारी सेक्टरका संरक्षण अधिकृत मधु नेपालीले भने वन्यजन्तु विभागले गैँडा रहने जंगलको क्षमता, आहार र द्धन्द्धलाई हेरेर गैँडा स्थानान्तरण गर्ने निर्णय गरेको भन्दै आफूले यहाँ उठेका कुरा सम्बन्धित निकायसम्म पुरयाउन सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
गत कात्तिक २९ गते यहाँका पर्यटन व्यवसायी, होटल व्यवसायी, नेचर गाईड, संरक्षणकर्मी, मध्यवर्ती वन व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाले गैंडाको स्थानान्तरण रोक्न दबाब दिनका लागि गैँडा संरक्षण समन्वय समिति समेत गठन गरेका छन् ।
गैँडा स्थानान्तरणले जिल्लाको पर्यटन व्यवसाय धरापमा पर्ने, राज्यको फजुल खर्च बढ्ने तथा गैँडाको स्वतन्त्रतापूर्वक हिँडडुल र विचरण गर्न पाउने अधिकार हनन हुने भन्दै स्थानान्तरण आवश्यक नरहेकोमा सबै एकमत देखिएका छन् ।
निकुञ्जको तथ्याङ्कअनुसार पश्चिम सेक्टरमा पूर्वी सेक्टरको तुलनामा गैँडाको चाप बढी छ । कसरालाई मध्य क्षेत्र मान्दा त्योभन्दा पश्चिममा ६५ प्रतिशत र पूर्वमा ३५ प्रतिशत गैँडा रहेको तथ्याङ्क छ । निकुञ्जको पछिल्लो गणनाअनुसार ६९४ गैँडा छन् भने पश्चिम सेक्टरमा मात्र दुईसय ९ वटा गैँडा छन् ।