बोमलाल गिरी
नवलपुर, माघ ३ गते । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा रहेका रुखहरमध्ये पहिलो चरणमा ४७ वटा मात्र काटिने भएको छ । डिभिजन वन कार्यालय नवलपुरले पहिलो चरणमा बिहीबार कटान हुने भनिएका ४९ मध्ये ४७ वटा रुख छपान गरेको छ ।
छपान गरिएका ४७ रुख मध्ये ४१ वटा सिसौ, तीनवटा सिमल, एउटा करम रहेका छन् । कटान गरिने रुखबाट दुई हजार एक सय सात क्युफिट काठ र दुई हजार एक सय क्युफिट दाउरा निस्किने डिभिजन वन अधिकृत शिशिर लम्सालले बताए ।
पहिलो चरणका लागि रुख कटान गर्न छपानको काम सम्पन्न भएसँगै अब आयोजनले छपान गरिएका रुखहरु निर्माण स्थलबाट हटाउन सुरु गर्ने सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख झपट बहादुर थापाले बताए । “बढिमा एक हप्ता भित्रमा रुख हटाउने काम सकिन्छ,” थापाले भने ।
पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन निर्माणका लागि ठेक्का सम्झौता भएर काम अघि बढेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले पहिलो चरणमा तीनवटा भवन बनाउनका लागि रौतहटको चौधरी कन्स्ट्रक्सनलाई ठेक्का दिइसकेको छ ।
गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सदरमुकाम निर्माण स्थलमा रहेका ६ सय ४२ वटा रुख काट्नका लागि स्वीकृति दिएको थियो । रुख कटान नहुँदा ठेकेदार कम्पनीले निर्माणको काम अघि बढाउन पाएको थिएन ।
गिद्धका गुँड संरक्षण गरिने
डिभिजन वन कार्यालयका प्रमुख बसन्त केशव अधिकारीका अनुसार गिद्धले गुँड लगाएका रुखहरु संरक्षण गर्दै अन्य रुखहरु काटिनेछ । पहिलो चरणमा काटिने ४९ मध्ये गिद्धले गुँड लगाएका दुईवटा सिमलका रुख नकाटिने भएको हो ।
नमुना सदरमुकाम बनाउने भनिएको ज्योतिकुञ्ज सामुदायिक वनमा १९ वटा गुँडमा अति लोपोन्मुख डंङ्गर प्रजातिका गिद्धले प्रजनन गरिरहेका गिद्ध संरक्षणकर्मी डिबी चौधरीले बताए ।
सन् २०२२ देखि ०२४ सम्म गरिएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) मा गिद्धले यस क्षेत्रमा आराम गर्ने, बास बस्ने, आहार खोज्ने, प्रजनन तथा गुँड लगाउने उपयुक्त स्थल बनाउँदै आएको देखिएको चौधरीको भनाइ छ ।
नेपालमा पाइने नौ प्रजातिका गिद्ध (डङ्गर, डफोर, सुन गिद्ध, राज गिद्ध, साना खैरे, लामो ठुँडे, खैरो ठुँडे, सेतो गिद्ध र हिमाली) मध्ये डङ्गर, सानो खैरो, लामो ठुँडे र सुन गिद्ध अति लोपोन्मुख मानिन्छ । नेपालमा हाल झन्डै २० हजार गिद्ध रहेको अनुमान गरिएको छ ।
चार अर्बका लागि नयाँ टेन्डर
नमुना सदरमुकाम निर्माणको लागि चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको ४ अर्ब बजेटबाट थप संरचना निर्माणका लागि फेरी नयाँ टेण्डर खोलिने भएको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख थापाले बताए ।
चार अर्बबाट कुन–कुन भवनलाई प्राथमिकता दिने भन्ने कुरा पहिले नै टुंगिसकेकाले त्यही अनुसार अव टेण्डर प्रकृया अघि बढ्ने थापाको भनाइ छ । ‘‘रकम अनुमानका लागि फाइल भवन निर्माण विभागमा पठाएका छौं, त्यहाँबाट टुंगिएर आउने वित्तिकै टेण्डर प्रकृया अघि बढ्छ,’’ थापाले भने ।
नमुना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ संघ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल रंगशाला, १५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् ।
थापाका अनुसार चार अर्बबाट एकीकृत संघीय सरकारी भवनहरु, सभाहल, आवास गृह, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, आन्तरिक राजश कार्यालय, शसस्त्र प्रहरी कार्यालय प्राथमिकतामा रहेका छन् ।
सदरमुकाम निर्माणका लागि भवन निर्माण विभागका महाप्रवन्धकको नेतृत्वमा पाँच सदस्सीय समिति बनेको छ । समितिमा भवन निर्माण कार्यालय चितवन, प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला प्रशासन कार्यायका प्रतिनिधि रहेका छन् । रकम सुनिश्चि भयसकेकाले तत्काल यो समितिको बैठक राखेर थप छलफल गरिने प्रमुख जिल्ला अधिकारी अरुण पोखेलले बताए ।
सदरमुकाम निर्माणको काम बहुवर्षीय आयोजनाका रुपमा रहेको छ । प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुपियाँ रहेकोमा लागत बढेर अहिले २६ अर्व पुगेको छ ।
गत आर्थिक वर्षमा सदरमुका निर्माणका लागि ५० करोडको स्रोत सुनिश्चितता भएको थियो भने चालु आर्थिक वर्षमा संघीय कार्यालय र पूर्वाधार निर्माणका लागि भनेर ८० करोड रुपैयाँ विनियोजन भएको छ ।