गैँडाको आक्रमणबाट नवलपुरमा फेरी एकको मृत्यु

नवलपुर, माघ २४ गते ।
गैँडाको आक्रमणबाट नवलपुरमा थप एक जनाको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजो बुधबारदेखि हराइरहेकी महिला आज मृत फेला परेको प्रहरीले जनाएको छ ।

देवचुली नगरपालिका–१ मिलन चोक निवासी ४७ वर्षिया राममाया सोतीको शव फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल डण्डामा राखिएको छ । पोष्टमार्टमको रिपोर्ट आइनसकेको भए पनि गैँडाको आक्रमणबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।

चार साथीहरुसँगै बुधबार घाँस काट्न गएकामध्ये एक जनालाई गैँडाले आक्रमण गरी घाइते बनाएको थियो भने अन्य दुईजना भाग्न सफल भएका थिए । एकजना बेपत्ता भएका थिए ।

स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज, सेनाको टोलीले निकुञ्जभित्र खोजी गर्ने क्रममा आज दिव्यमध्यवर्ती सामुदायिक वनभित्र सोतीको शव फेला पारेको हो ।

बुधबार घाइते हुनु भएकी ३३ वर्षीया कुमारी आलेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गत चैत यता दुई पटक गरेर निकुञ्जले नवलपुर क्षेत्रबाट १० वटा स्थानान्तरण गरेर चितवन लगेपनि जिल्लामा गैँडा आक्रमणका घटना रोकिएका छैनन् ।

असोज २३ गते कावासोतीको खरकट्टा जंगलमा गैँडासँग मोटर साइकल ठोक्किँदा दैलेखका दुई युवाको मृत्यु भएको थियो । त्यस्तै कात्तिक २० गते कावासोती नगरपालिका वडा नं. ७ बोटे टोलका ६५ वर्षीय सुक बहादुर बोटे र मंसिर ८ गते मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट मृत्यु भएको थियो । अरु थुप्रै घाइते भएका छन् ।