पाकिस्तानीले मलेसियामा हत्या गरेका नेपालीको शव ल्याउन के भयो समस्या ?

बोमलाल गिरी
कावासोती, माघ २५ गते ।
कावासोती नगरपालिका–४ की तिलमाया सार्की श्रीमानसँग सम्बन्ध विच्छेद गरेर नाबालिका छोरीलाई दिदीको रेखदेखमा छोडी वैदेशिक रोजगारीका लागि मलेसिया गईन् । मलेसिया गएको एक वर्ष बित्न नपाउँदै तनहुँका एक युवक र तिलमायाको हत्या भयो । पाकिस्तानी युवकले दुई नेपालीको हत्या गरेर शव नालामा फालेको पनि पुष्टि भयो ।

तर १० महिना भइसक्यो न तिलमायाको शव नेपाल ल्याउन सकियो, न त राहत रकम नै हात लाग्यो ।  लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिनु परेको छ । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन पहल गरिदिन सरकारसँग तिलमायाकी ७० वर्षीया आमा धनमायाको  आग्रह छ ।

शव झिकाउनका लागि सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको धनमायाको भनाइ छ । ‘‘शव आउला भन्ने आस गर्दा गर्दै १० महिना बितिसकेछ,’’ धनमायाले भन्नुभयो, ‘‘न शव देख्न पाइयो न राहत रकम नै हात पर्‍यो ।’’

तिलमायाकी दिदी नीलमायाले गत वैशाख २६ गते परिवारसँग अन्तिम सम्पर्क भएको र त्यसको एक हप्तापछि हत्या भएको खबर आएको सुनाईन् । हत्या लगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको उनको भनाइ छ ।

मलेसियाबाट मृत्युको खबर आउने बित्तिकै शव पहिचान गरी बुझ्नका लागि बहिनीसँग नाता प्रमाणित गरेर दिदी नीलमायालाई मलेसिया पठाइयो । नीलमायाले नालीमा भेटिएको शव बहिनी तिलमायाकै भएको पहिचान गरिन् ।  शवलाई उठाएर अस्पतालमा लगियो । पोस्टमार्टम भयो, तर शव नेपाल पठाउन कुनै पहल नभएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामशदार्ता रञ्जना लम्सालले बताइन् ।

मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको हो । मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालकले पाउने राहत गुम्ला कि भन्ने चिन्ता लागेको लम्सालले बताइन् ।

वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नु पर्छ । बोर्डका प्रवक्ता टीकाराम ढकालले पनि पाकिस्तानीमाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको बताए ।

शव परिचालनमा नै लामो समय लागेको दूतावासले जानकारी गराएको ढकालले बताए । शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको ढकालको भनाइ छ ।

‘‘हामीले पहल गरिरहेका छौँ, दूतावासले अन्तिम चरणमा पुगेको बताएको छ,’’ प्रवक्ता ढकालले भने, ‘‘अनुसन्धान अफिसर बिदामा भएकाले समय लागेको दूतावासको भनाइ छ, अफिसर काममा फर्कनेबित्तिकै मुद्दाको किनारा लाग्छ भनिएको छ ।’’