नवलपुर, फागुन २२ गते । बस्तीमा छिरेर जंगली जनावरले आक्रमण गर्न थालेपछि उनीहरुलाई जंगलमै रोक्ने विकल्प स्वरुप नवलपुरका सामुदायिक वनहरुले घाँसे मैदान निर्माणलाई तिब्रता दिएका छन् । कावासोतीका तीन वटा मध्यवर्ती सामुदायिक वनले घाँसे मैदान निर्माण गरेका छन् ।
कावासोती–७ को कृष्णसार मध्यवर्ती सामुदायिक वन, ११ को कुमारवर्ती मध्यवर्ती सामुदायिक वन र १३ को शान्तीकुञ्ज मध्यवर्ती सामुदायिक वनले वनमारा लगायत अनावस्यक झाँडी फाँडेर घाँसे मैदान बनाएका हुन् । तीन वटा वनले ७ लाख रुपियाँ खर्च गरेर ४० हेक्टरभन्दा धेरै क्षेत्रफलमा घाँसे मैदान निर्माण गरेको लामिचौर उपभोक्ता समितिका सचिव लेखनाथ दवाडीले जानकारी दिए ।
मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्जले वर्षेनी घाँसे मैदान विस्तार कार्यक्रममा बजेट उपलब्ध गराउदै आएको र त्यही बजेटबाट यस पटक तीन वटा मध्यवर्ती सामुदायिक वनमा घाँसे मैदान बनाइएको हो ।
प्रयाप्त आहार र आहाल खेल्ने पानीको अभावमा गैँडा वस्ती प्रवेश गरेर दुःख दिने र मानिसलाई आक्रमण गर्ने क्रम बढेपछि गैँडालाई जंगलमै रोक्न घाँसे मैदान बनाइएको लामीचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताए ।
‘‘मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तुलाई घाँसे मैदानको अभाव देखियो । घाँसे मैदान, आहार–विहार र सिमसारको कमी भएकाले जंगली जनावर बस्तीमा पस्न थालेपछि जनावरलाई जंगलमै रोक्न र रमाउन दिनका लागि भनेर घाँसे मैदान तयार गरिएको हो,’’ अध्यक्ष पौडेलले भने ।
घाँसे मैदान व्यवस्थापन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । घाँसे मैदानको निर्माण र व्यवस्थापनसँगै यहाँ गैँडालगायतका वन्यजन्तुको वासस्थान र चरन क्षेत्र बन्ने र जिप सफारी, हात्ती सफारीमा आउने पर्यटकले सहज रुपमा वन्यजन्तु अवलोकन गर्नसक्ने अध्यक्ष पौडेलको भनाइ छ ।
प्रकृतिमाथि मानवीय हस्तक्षेप बढेकाले भित्रै रमाउने जनावर बाहिर निस्कन बाध्य भएको कावासोती १० का पूर्व अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाको भनाइ छ । विगतका वर्षहरुभन्दा पछिल्लो समय गाउँ पसेर वन्यजन्तुले दुःख दिने क्रम बढेको तिमिल्सिनाले बताए ।
‘‘पहिले घाँसे मैदानको क्षेत्र धेरै थियो । तर सामुदायिक वनहरुको संरक्षण हुन थालेपछि घना जंगल बने । बोटविरुवा ठूला भएपछि जनावरले आफ्नो आहार टिपेन खान सकेनन् । यसले गर्दा जंगली जनावर बस्तीमा पस्न थाले,’’ तिमिल्सिनाले भने, ‘‘त्यसैले घाँसे मैदान नै व्यवस्थापन गर्नु पर्ने देखियो ।’’
गैडाका लागि सिरुसहितको घाँसे मैदान र आहाल खेल्नका लागि पानीसहितको पोखरी तथा चित्तल, हरिण लगायत जनावरका लागि पातपतिङगर र घाँस आवश्यक पर्ने चितवन राष्ट्रिय निकुजले जनाएको छ । जंगलमै आहार खान पाएपछि बाघ पनि बस्तीमा छिर्दैन । चालू आवको ८ महिनामा निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास वन्यजन्तुको आक्रमणमा परेर ५ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाईते भएका छन् ।









