नवलपुर, फागुन २८ गते । जिल्लामा रहेका कुनै पनि क्याम्पसमा निर्धाचित मितिमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने भएको छ । संघ संगठन दर्ता गनेदेखि लिएर उम्मेदवारी दिने र दावी विरोधपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिनसम्म पनि नेकपा एमाले निकटको अनेरास्ववियुले सबै क्याम्पसमा तालावन्दी गरेका कारण निर्धारित मिति चैत ५ मा चुनाव नहुने देखिएको हो ।
निर्धारित मितिमा चुनाव हुन नसक्नुमा नेपाली कांग्रेस निकटको नेविसंघले अनेरास्ववियुलाई दोष लगाएको छ भने अनेरास्ववियुले क्याम्पस प्रशासनलाई दोष लगाएको छ । नेविसंघका जिल्ला सभापति हरि सुवेदीले अनेरास्ववियुले आफूहरुलाई पटक पटक झुक्काएको र हार्ने डरले चुनावबाट भागेको आरोप लगाए ।
‘‘बैठक बसेर सहमति गरौं भनेर हिजो दिनभर जसो प्रयास गर्यौ, सहमतिका लागि संयुक्त प्रस्ताव पनि तयार भएको थियो,’’ सभापति सुवेदीले भने, ‘‘तर अन्त्यमा हस्ताक्षर गर्नै मान्नु भएन ।’’ फेरी चुनाव माग गर्नका लागि अनेरास्ववियुले नैतिक धरातल समेत गुमाइसकेको र मैदानबाट हार स्वीकार गरेको सुवेदीको आरोप छ ।
अनेरास्ववियुले भने क्याम्पस प्रशासनका कारण चुनाव हुन नसकेको दावी गरेको छ । क्याम्पस प्रशासनले संगठन दर्ता पश्चात विद्यार्थी संगठनहरलाई आचार सँहिता बनाउने विषयमा नबोलाएको, चुनावको पूर्वसन्ध्यामा निर्वाचन प्रकृयालाई प्रभावित गर्ने हेतुले विद्यार्थी भर्नामा व्यापक अनियमितता गरेको र निर्वाचन नगराउने र गराउन परे पनि आफू अनुकुल बनाउन प्रयासरत रहेको अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसालले आरोप लगाए ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आयुढ ढकालले अनेरास्ववियुका कारण जिल्लाका कुनै पनि क्याम्पसमा निर्धारित मितिमा चुनाव हुन नसक्ने अवस्था आएको बताए । ‘‘अनेरास्ववियुलाई हारले तर्सायो, त्यसैले उहाँहरु अनेक बखेडा झिकेर चुनाव नगराउने मनस्थितीमा पुग्नुभयो,’’ अध्यक्ष ढकालले भने, ‘‘यो खेदजनक छ ।’’
संघ संगठन दर्ता गर्ने, मतदाता सूचि प्रकाशन, दावी बिरोध र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने समय तालिका घर्कीसकेको छ भने आज २८ गते उम्मेदवार उपर दावी बिरोध र अन्तिम नामावली प्रकाशन गर्ने र समानुपाति तथा प्रत्यक्ष दुबै तर्फका उम्मेदवारले नाम फिर्ता लिने समय तालिका तोकिएको छ ।
जिल्लाका ८ वटा क्याम्पसमा चैत ५ गते मतदानको समय तोकिएको छ । संस्कृत विश्वविद्यालय मातहतको कालिका विद्यापिठ गैँडाकोटमा भने चैत १० गते चुनाव हुने तालिका छ ।









