कावासोतीको फोहोर अझै दुई हप्ता नउठ्ने

नवलपुर, चैत ५ गते । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ । थुप्रिएको फोहोर बर्गिकरणमा समय लागेको भन्दै नयाँ फोहोर नउठाएपछि कावासोती दुर्गन्धित बन्दै गएको हो ।

कावासोती ३ को केरुङ्गे खोला पारी अंकुर सामुदायिक वनमा विगत ५ बर्षदेखि फोहोर विर्सजन हुँदै आएको थियो । तर उचित ढंगले व्यवस्थापन नगर्दा प्रदुषण बढेको भन्दै विरोध भएपछि फोहोर उठ्न सकेको थिएन ।

नगरपालिका र सामुदायिक वनबीच फागुन १२ गते ११ बुँदे सहमति भई फोहोर वर्गीकरण गरेर व्यवस्थापन गरेपछि मात्र उठाउन सहमति भएको थियो । तर पनि फोहोर वर्गीकरणको काम नसकिएकोले फोहोर उठ्न नसकेको हो ।

कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले अहिले दुर्गन्धरहित फोहोर व्यवस्थापनको लागि पहिले जम्मा भएको फोहोर वर्गीकरण भईरहेको र त्यो काम सकिएपछि मात्रै फोहोर उठ्ने बताए ।

त्यसैगरी अंकुर सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसीले फोहोर वर्गीकरणको काम चलिरहेको र वर्गीकरणको काम सक्न अझै २ हप्ता लाग्ने भएकोले फोहोर उठ्न नसकेको बताए ।

उनका अनुसार अहिले पुरानो फोहोरलाई वर्गीकरण गरि बिक्री हुने फोहोरलाई विक्री गर्ने र विक्री नहुने फोहोरलाई जेसिबी र एक्साभेटर लगाएर खाडल खनी पुर्ने र त्यसपछि खोलातिर जान नदिन तट्बन्धन निर्माणको काम हुनेछ ।

वर्गीकरणको काम शुरु भएको दुई हप्ता वितिसक्दा पनि अहिलेसम्म ५० प्रतिशत फोहोर पनि वर्गीकरण हुन सकेको छैन । फोहोर नउठ्दा स्थानीय भने आक्रोसित भएका छन् ।