सुन किन्न केरुङतर्फ जाँदै गरेका लामा २५ करोड रुपैयाँसहित पक्राउ

काठमाडौं । प्रहरीले २५ करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका– १ झोर क्षेत्रबाट उक्त रकमसहित ३९ वर्षीय कुसान लामालाई पक्राउ गरेको हो ।

उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । उनी ‘फुच्चे’ उपनामले चिनिन्छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

सोमबार झोरबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट २५ करोड १ लाख ६० हजार नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको थियो । मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटन प्रयोग गरी मुद्रा लुकाइएको थियो ।

विदेशी मुद्रा लिएर केरुङ नाका हुँदै उनी चीनतर्फ सुन किन्न हिँडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनी ७ किलो सुन तस्करी प्रकरण्मा भरियाको अभियोगमा ०७३ सालमा ५ वर्ष जेल बसेर छुटेको पाइएको प्रहरीले जनाएको छ । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

उक्त विदेशी मुद्रा सुन ल्याउन लैजान लागेको हुनसक्ने प्रहरीको आशङ्का छ । हिरासतमा लिएर थप अनुसन्धान गरेपछि विस्तृत खुल्ने प्रहरीले जनाएको छ । अहिले नै कुन प्रयोजनका लागि उक्त रकम लैजान लागिएको भन्न नसकिने प्रहरीले बताएको छ ।

यसरी गरियो पक्राउ
विशेष सुराकीको आधारमा ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मलेनमा एक प्रहरी अधिकृतले भने, “विशेष सुराकीको आधारमा अवैध मुद्रा बोकेको एउटा गाडीमा झोरको बाटो हुँदै रसुवातिर गइरहेको कुरा गयो । केही स्थानमा अपरेशन सञ्चालन गरियो । पैसा लुकाउन सक्ने क्षेत्रको विश्लेषण गरी हाम्रो टिम त्यसतर्फ गयो । गाडीलाई रोकेर ड्राइभरसँग सोधपुछ गर्दा शङ्का लागेपछि नियन्त्रणमा लिएका हौँ ।”

काठमाडौं ल्याएर ट्रक चेक गरेकोसमेत प्रहरीले जनाएको छ ।