पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले डायलाइसिस सेवाका लागी ल्याएका मेसिनमा ढुवानीको क्रममा क्षति पुगेको छ ।
नारायणगढ बुटवल सडक खण्डको जीर्ण अवस्थाका कारण काठमान्डौबाट ल्याइएको दाउन्ने क्षेत्रमा आउदा क्षति पुगेको बताईएको छ । अहिले दाउन्ने क्षेत्रमा बाक्लो धुलोका कारण सडकका खाल्डाखुल्डी समेत नदेखिने अवस्थाले गर्दा जर्मनबाट प्राप्त मेसिनमा क्षती पुगेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।
ट्रकमा लोड गरेर प्राविधिकहरूको निगरानीमा ल्याइएको भएपनि सडकको जीर्ण अवस्थाले महत्वपूर्ण उपकरणमा क्षति पुगेको श्रेष्ठले बताए । विशेष पहल गरेर मेसिन ल्याइएको थियो, तर दाउन्नेको सडकको अवस्थाले मेसिनमा क्षति पुग्यो, सडकले गर्दा अन्तराष्ट्रिय स्तरमा समेत नेपालको बेईज्ज्त भएको नगर प्रमुख श्रेष्ठले बताए ।
उनले सडक विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडका प्रतिनिधिलाई तत्काल सडक सम्याउने र दाउन्ने क्षेत्रको कामलाई गति दिन पनि ध्यानाकर्षण गराए ।
सुरक्षित तवरबाट ल्याइएको भएपनि अत्याधिक खाल्डाखुल्डी र धुलोले सडकको अवस्था थाहा नहुँदा क्षति पुगेको प्राविधिकहरूले बताएका छन् । अहिले दाउन्ने क्षेत्रमा सडक फराकिलो बनाउन पहाड काट्ने र पुल कल्र्भट निर्माणको कामले सडक झनै जीर्ण बनेको छ ।
बर्दघाट नगरपालिकालाई प्राप्त ६ वटा हेमोडायलाइसिस मेसिन मध्ये ४ वटा ल्याइएको छ भने बाँकी दुई वटा ल्याउन बाँकी छ । बढि क्षति पुगेको दुई वटा मेसिन फिर्ता पठाइएको छ भने त्यसलाई जर्मनका रोटरी भोलन्टियर्सको संस्थाले परिर्वतन गरी नयाँ पठाउने छ ।
मृगौलाका बिरामीहरूलाई डायलाइसिसका लागी बुटवल भैरहवा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न नगरपालिकाले बर्दघाट १२ चौपत्तामा रहेको सामुदायिक अस्पतालमा सेवा सुरु गर्ने जनाएको छ । जसका लागी आवश्यक तयारी भइरहेको नगर प्रमुख श्रेष्ठले बताए ।








