नवलपुर, बेशाख १ गते । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडकको दाउन्ने खण्डमा बैशाख १ देखि १५ दिनसम्म राति ६ घण्टा गाडी रोकेर सडक विस्तारको काम गरिने भएको छ ।
बैशाख १ गते रातिदेखि बैशाख १५ गतेसम्म राति ११ बजेदखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाईने जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो । यसअघि ५ दिनसम्म दिउँसो ४ घण्टा गाडी सञ्चालनमा रोक लगाईएको थियो ।
दुई फिटसम्म धुलो जमेको दाउन्नेमा हल्का पानी परेपछि बाटो चिप्लो हुँदा यो बाटो भएर यात्रा गर्न कष्टकर हुँदै आएको थियो । त्यसमाथि बाढीले दुम्किवास विनयी खोलाको डाईभर्सन बगाएपछि यात्रा थप सकसपूर्ण बनेको थियो । दाउन्ने खण्ड १४ किलो मिटर पार गर्न १४ घण्टासम्म लाग्ने गरेको यात्रुले बताएका छन् ।
सडक विभागले बाटो बन्द भएको बेला ट्रक, टिप्पर लगायत गरुङ्गा सवारी साधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिने जनाएको छ । यात्रुवाहक बस, मिनी बस, जिप, कार लगायतका सवारी साधनलाई भने पूर्वमा दुम्किबास र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने छ ।
सवारी साधन नै रोकेर बाटो विस्तारको काम गर्ने भएपछि बैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले चालकलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम जाने सवारी साधनले गैँडाकोटदेखि कालिगण्डकी करिडोरको सडक र पूर्वबाट पश्चिम नारायणघाट तर्फ आउने सवारी साधानले बुटबलबाट पाल्पा हुँदै कालिगण्डकी करिडोरकै सडक प्रयोग गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले बताउनुभयो ।
गैंडाकोटदेखि पाल्पा हुँदै बुटवल जाने बाटोमा साना गाडीहरुमात्र चल्छन् । साना–ठूला सबै गाडीहरुका लागि भने नारायणघाट–मुग्लिन–पोखरा–पाल्पा हुँदै बुटवल आउ–जाउ गर्ने अर्को उपयुक्त बाटो भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो ।
पश्चिमतर्फबाट पूर्व जाने वा राजधानी काठमाडौंसम्म पुग्ने गाडीले पनि बुटवल–पाल्पा–पोखरा–मुग्लिनको बाटो प्रयोग गर्न सक्छन् । यो बाटोमा साना–ठूला सबै प्रकारका गाडीहरु चल्छन् । तर यो रुट लामो र घुमाउरो छ ।









