बाबुआमाको कुटाईबाट नवलपुरमा ४ महिने शिशुको मृत्यु

नवलपुर, बैशाख ९ गते । नवलपुरको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाको कुटाई र लछारपछारबाट ४ महिने शिशुको मृत्यु भएको छ ।

नवलपुर प्रहरीका अनुसार बाबु २१ वर्षीय दीपेन्द्र परियार र आमा ३५ वर्षीया कमला परियारले गएराति मादक पदार्थ सेवन गरी आफ्ना चार महिने छोरालाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए ।

घाइते शिशुलाई तत्कालै हजुरबुबाले स्थानीयको सहयोगमा पाल्पाको रामपुर अस्पताल लैजानु भएको थियो । तर उपचारको क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेर भागेको नेपालले बताए । अहिले शिशुको हत्या अभियोगमा बाबु दीपेन्द्र र आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक नेपालले बताए ।