नवलपुर, बैशाख १० गते । नवलपुरमा आपराधिक घटनाहरू उल्लेखनीय रूपमा बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार २०७८ सालदेखि चालु आर्थिक वर्षको ९ महिनामा जिल्लामा एक हजार तीन सय ४१ आपराधिक घटनामा मुद्दा दर्ता भएका छन् । तीमध्ये आत्महत्याका घटना सर्वाधिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यो अवधिमा ३०६ जनाले आत्महत्या गरेका छन् । आव २०७९/८० र २०८०/८१ मा समान १०९/१०९ र चालु आवमा ८८ जनाले आत्म हत्या गरेका छन् । प्रहरीका अनुसार आत्महत्याको प्रमुख कारणमा मनोसामाजिक समस्या, पारिवारिक असमझदारी, मानसिक स्वास्थ्यको उपेक्षा र बेरोजगारी लगायत छन् ।
जिल्लामा लागुऔषधसम्बन्धी अपराध दोस्रो स्थानमा छ । तीन वर्षमा १३७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका प्रहरीको भनाई छ । २०७९÷८० मा ५५, २०८०/८१ मा ५१ र चालु आवको ९ महिनामा ३१वटा घटना दर्ता भएका हुन् ।
भारतसँगको खुला सिमाना र युवामा बढ्दो प्रयोग यसका प्रमुख कारण रहेको प्रहरी उपरीक्षक ढकालले बताए । सिमाना क्षेत्रबाट लागुऔषधको ओसारपसार र प्रयोग नियन्त्रण गर्न प्रहरी प्रशासनले निगरानी प्रणाली, चेकपोष्टमा कडाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
यो अवधिमा सार्वजनिक शान्ति विरोधी अपराधका १२८, शारीरिक आक्रमण (भबितब्य ज्यान) सम्बन्धी १४९ हत्या तथा हत्या प्रयास सम्बन्धी ९२, वैदेशिक ठगीमा ७८, चोरीका ६८, सवारी ज्यानका ५१ र अन्य विविध १३६ मुद्दा दर्ता भएका छन् ।
प्रहरीका अनुसार यी तथ्यांकले जिल्लामा सार्वजनिक सुरक्षा र कानुनी शासनलाई थप सुदृढ गर्न आवश्यक रहेको देखाएको छ । अपराध नियन्त्रणका लागि प्रहरी प्रशासनले निगरानी कार्यक्रम, जनचेतना अभियान र तालिमहरू सञ्चालन गरिरहेको जनाएको छ । अधिकांश अपराधका पछाडि सामाजिक तनाव, बेरोजगारी, पारिवारिक विवाद, लागुऔषधको दुरुपयोग र वैदेशिक रोजगारीका नाममा हुने ठगी रहेका प्रहरीको भनाइ छ ।









