चोरमारा पुल भाँचिएपछि यात्रुको विचल्ली, छैन बैकल्पिक मार्ग

नवलपुर, बैशाख ३० गते । नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–६ चोरमारस्थित गिरूबारी खोलाको पुल भाँचिएपछि यात्रुको विचल्ली भएको छ । शनिवार राति साढे ८ बजेदेखि पुल भाँचिएर यातायात्र पूर्ण रुपमा अवरुद्ध भएको हो ।

भाँचिएको पुल मर्मत गरी सञ्चालन गर्न सम्भव नभएको र नयाँ पुल बनिहाल्ने अवस्थामा नरहेका कारण यात्रुलाई समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए । सडक विभागले डाइभर्सन नबनाएसम्म गाडी सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।

प्रहरी उपरीक्षक ढकालका अनुसार साना तथा हलुका सवारी साधन भने लामो मार्ग भएर गिरुबारीका भित्री सडकबाट पार हुने गरेका छन् भने ठूला बस तथा मालवाहक गाडी बीच बाटोमै रोकिएका छन् ।

बिहान ५ बजेसम्म दाउन्नेको सडक विस्तारका लागि रोकिएका गाडीहरु ५ बजेपछि छोडिएकाले अव झन ठूलो जाम हुने जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले बताए ।

ओभर लोडले जोखिममा पुल
ओभर लोडका कारण पुल भाचिएको प्रहरीले जनाएको छ । पुलमा म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जादै गरेको टेलर पुलमा हिड्दै गर्दा पुल भाँचिएको थियो ।
यसअघि २०७९ साल असारमा पनि ओभरलोडकै कारण पुलको बीच भाग चर्किएको थियो ।

त्यसबेला तत्कालीन रूपमा मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको उक्त पुल पुनः भारी सवारीसाधनको अत्यधिक भारका कारण भाँचिएको हो । प्रहरी उपरीक्षक ढकालका अनुसार ओभरलोडका कारण पुलको एक भागमा क्षति देखिएपछि यातायात अवरुद्ध भएको हो ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल भाँचिदा ३४ घण्टासम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो । हजारौँ यात्रु अलपत्र पर्नुका साथै खाद्यान्न, औषधि, निर्माण सामग्री ढुवानीसमेत प्रभावित भएको थियो । हाल सो पुल डाइभर्सनमार्फत सञ्चालनमा आए पनि बाढीले दुई पटकसम्म डाइभर्सन बगाइसकेको छ ।

यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । ५० वर्ष पुराना अधिकांश फलामे पुल जीर्ण अवस्थामा रहेका छन् । यि पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । नारायणघाट– बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरु सञ्चालन गर्ने गरिएको छ ।