राजमार्गमा अव्यवस्थित रुपमा राखिएका होडिङ बोर्ड ७ दिन भित्र हटाउन निर्देशन

नवलपुर, जेठ ८ गते । कावासोती नगरपालिकाले पूर्वपश्चिम राजमार्गको चोक–चोक र सडक बीचमा अव्यवस्थित रुपमा राखिएका होडिङ बोर्ड सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।

नगरपालिकाले एक सूचना निकालेर यस्ता होडिङ बोर्डले यातायातमा असुविधा हुनुका साथै नगरपालिकाको सुन्दरतामा समेत कुरुपता थपेको भन्दै सात दिन भित्र हटाई सक्न निर्देशन दिएको हो ।

निर्धारित समयमा यस्ता होडिङ बोर्ड नहटाए नियमानुसार कारवाही प्रकृया अघि बढाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले निकालेको सूचनामा उल्लेख छ । नारायणघाट–बुटबल सडक खण्ड कालोपत्रे भएसँगै चोक–चोकमा आफ्नो व्यापार व्यवशाय प्रवर्धन गर्नका लागि मात्र होइन धर्म प्रचारका लागि समेत राजमार्गमा होडिङ बोर्ड राख्ने प्रतिश्पर्धा चलिरहेको छ ।