१५ गते राजावादीको आन्दोलनमा हस्तक्षेप गर्न एमाले कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, जेठ ११ गते । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउँदै कार्यकर्तालाई सोही अनुसारको निर्देशन दिएका छन् ।

आगामी जेठ १५ गते राजावादीहरूले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका कारण ओलीले एमाले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न ओलीले निर्देशन गरेका हुन् ।

यसबारेमा पार्टीले आवश्यक निर्देशन पछि दिने भन्दै उनले काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए । ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ ओलीले भने ।

एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । प्रशिक्षण सकिनासाथ १५ गतेका लागि तयारी थाल्न उनले कार्यकर्तालाई भनेका छन् ।

‘म साथिहरूलाई आग्रह गर्न चाहन्छु । निर्देशन पछि आउँछ । तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुहोला । जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सकिएपछि १५ गतेमा ध्यान दिनुस्,’ प्रधानमन्त्री ओलीले भने ।

साथै, उनले आन्दोलनमा कुनै पनि प्रोटोकल लागू नहुने पनि बताए । राजावादीहरू कुनै महान उद्देश्यका लागि नलडेको बताउँदै उनले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको बताए ।

‘यिनिहरू कुनै महान उद्देश्यका लागि लडिरहेका छैनन् । साना स्वार्थका लागि सरकार अलि मौन बसेको, जनता अलि मौन बसेको अवस्था हो । त्यो अवस्थाको फाइदा लिएर यिनिहरूले अनावश्यक फूर्तिफार्ति देखाएका छन्,’ प्रधानमन्त्री ओलीले भने ।