बोमलाल गिरी
नवलपुर, जेठ १४ गते । नदी र जंगलमा आश्रित र आर्थिक हिसावले पछि रहेका नवलपुरका माझि, मुसहर र बोटे समुदायका युवा युवतीहरु बैकल्पिक पेशा तिर आकर्षित हुन थालेका छन् । नारायणीमा माछा मार्ने, डुंगा चलाउने र जंगलमा निगुरो, च्याउ टिपेर बेची जिविकोपार्जन गर्ने यो समुदायको युवा पुस्ता बैकल्पिक पेशा तिर आकर्षित हुन थालेको हो ।
यो समुदायका ४१ जना युवाले २१ दिनसम्म ‘नेचर गाइड’ सम्बन्धि तालिम लिएर परम्परागत पेशालाई छोडी बैकल्पिक पेशालाई प्राथमिकता दिएको माझी, मुसहर, बोटे कल्याण सेवा समिति नवलपुरका सचिव ज्ञान बहादुर बोटेले बताए ।
कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाका ४१ जनाले सहभागीले परीक्षा दिएकोमा शतप्रतिशत पास भएको बोटेले जानकारी दिए । उनका अनुसार २१ दिनसम्म उनीहरुले होम स्टेमा सामान्य सैद्धान्तिक कक्षा लिएपछि पुरै दिन जंगलमै गएर व्यवहारिक कक्षा लिएका छन् ।
सफारी जाँदा अपनाउनु पर्ने सुरक्षा सावधानी, जैविक विविधता, वन, वातावरण र पर्यावरणको बारेमा जंगलमै जानकारी लिएको र स्वदेशी तथा विदेशी पर्यटकलाई बुझाउनका लागि पर्याप्त ज्ञान बटुलेको बोटेको भनाइ छ ।
नवलपुरको अमलटारी, दिव्यपुरी लगायत वनबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न, जंगल सफारी गर्न जाने पर्यटकको संख्या बढेसँगै युवा पुस्तामा नेचर गाइड पेशा प्रति आकर्षण बढेको अमलटारी होमस्टे भिलेजका सञ्चालक एवं होम स्टे महासंघका केन्द्रीय अध्यक्ष प्रेम शंकर मर्दनीयाले बताए ।
राम्रो समूह र बाह्य पर्यटकको गाइड हुन पाए पारिश्रमिकका साथै राम्रो टिप्स पनि पाइने भएपछि नेचर गाइड बन्नेको लहर बढेको छ । कक्षा १२ को परीक्षापछि तालिममा सहभागि कावासोती–१५ बाघ खोरकी १९ वर्षिया सुजिता बोटेले पहिलो पटक यस्तो तालिम लिन पाउँदा हर्षित भएको बताइन् ।
‘‘अहिलेसम्म यस्ता तालिम नभएकाले परम्परागत पेशा बाहेक अरु थाहा थिएन,’’ बोटेले भनिन्, ‘‘धेरै कुरा सिक्ने अवसर मिलेको छ, वन, वातावरण र जैविक विविधताको संरक्षणका साथै पर्यटन प्रवद्र्धनमा लाग्ने हौसला मिलेको छ ।’’
सरकारले जंगल सफारी गर्दा एउटा समूहमा कम्तिमा एक जना गाइड अनिवार्य गरेसँगै अहिले नेचर गाइडमा रोजगारीका अवसरहरु बढेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र नवलपुरको मध्यवर्ती क्षेत्रमा बाघ, भालु, जंगली हात्ति, गैँडा, जरायो, मृग, हरिण, नील गाई लगायत जंगली जनावरका साथै यहाँको जैविक विविधता, पर्यावरणको अवलोकन र जटायु रेष्टुरेन्ट, नारायणीमा पाइने जलचर, गोही प्रजनन केन्द्र र तालतलैकाको अवलोकनका लागि पर्यटक आउने क्रम बढ्दो छ ।
कक्षा १२ को परीक्षा दिएर बसेका १९ वर्षिय छन्नुराम मुसहरले तालिम लिएर केही गरेर देखाउने अवसर प्राप्त भएको बताउँछन् । ‘‘धेरैजसो मुसहर समुदायका युवाहरुले औपचारिक शिक्षा नलिएकाले अघिल्लो पुस्ताले नबुझेर, थाहा नपाएरै वैकल्पिक पेशा अपनाउन सकेनन्, परम्परागत पेशाले जिविकोपार्जन गर्न समेत कठिन छ, त्यसैले अव हामीले केही गरेर देखाउनु पर्नेछ,’’ मुसहरले भने ।
यसअघि यही समुदायलाई चितवनको माडीमा दिइएको तालिममा एक जना पनि बोटे माझी मुसहरको सहभागिता नभए पनि अहिले भने सहभागिता र चासो बढेको सचिव बोटेले बताए । अहिले माझी, मुसहर र बोटे समुदायका तीन जनासँग मात्र नेचर गाइडको लाइसेन्स रहेको उनको भनाइ छ ।
तर पछिल्लो समय पर्यटक आउने क्रम बढेसँगै पर्यटन व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा चलेको नेचर गाइडका प्रशिक्षक एवं तीन दशकदेखि जैविक विविधताको संरक्षणमा लागेका डिबी चौधरीले बताए । ‘‘अस्वस्थ प्रतिस्पर्धा हटाउन सके यस क्षेत्रको भविष्य राम्रो छ, तर अस्वस्थ पर्यटन व्यवसायका कारण यो व्यवसाय नै धरापमा छ,’’ चौधरीले भने, ‘‘गाइड उत्पादन गर्न धेरै समय लाग्छ । यो विषयमा जिम्मेवार निकाय गम्भीर बन्न जरुरी छ ।’’
लामो समय लगाएर उत्पादन गरेका गाइड स्वदेशमा रोजगारीको राम्रो अवसर नहुँदा विदेशिने गरेकाले गाइड संरक्षण गर्नु मुख्य चुनौती रहेको चौधरीले बताउनुभयो । उहाँका अनुसार २५ प्रतिशत गाईड (१५ जना) अरु नै पेशामा विदेश गइसकेका छन् ।
यो तालिममा पास भएकाहरु अव चितवन राष्ट्रिय निकुञ्जले लिने परीक्षामा सहभागि हुनेछन् । त्यहाँबाट पनि पास भएमा ९ दिनसम्म निशुल्क रुपमा ओजिटी गर्नु पर्ने व्यवस्था छ । लाइसेन्सका लागि निकुञ्जले साउनमा दरखास्त आव्हान गर्छ । मध्यवर्तीको सिफारिसमा लाइसेन्स परीक्षा पास भएमा साउनदेखि असार ३१ सम्मका लागि लाइसेन्स पाउँछन् र हरेक वर्ष दुई हजार रुपियाँ तिरेर नविकरण गर्नु पर्ने प्राबधान छ ।
गण्डकी प्रदेश पर्यटन तथा उद्योग मन्त्रालय, चितवन राष्ट्रिय निकुञ्ज, तराई भूपरिवेष्ठित परियोजना (ताल) को संयुक्त सहयोग र माझी, मुसहर, बोटे कल्याण सेवा समिति नवलपुरको आयोजनामा तालिम भएको हो ।
हेर्नुहोस् भिडियो