कावासोती, जेठ १७ गते । कावासोती तेक्वान्दो डोजाङको आजोजनामा नगर स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सञ्चालन भएको छ ।
कावासोतीमा तेक्वान्दोको विकास र खेलाडी पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको कावासोती तेक्वान्दो डोजाङका सञ्चालक एवं प्रशिक्षक तेज कुँवरले जानकारी दिए ।
प्रतियोगितामा एक सय ५० जना खेलाडीको सहभागिता रहने बताइए पनि एक सय २० जना खेलाडी सहभागि छन् । जिल्ला खेलकुद विकाससमितिसँगको समन्वयमा भएको प्रतियोगितामा कावासोती नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।
नगरपालिकामा खेलाडीहरु कति छन्, तेक्वान्दोको अवस्था कस्तो छ भनेर पहिचान गर्नु र खेलप्रति जागरुक बनाउँदै प्रतिभा पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको कुँवरको भनाइ छ । नगर हुँदै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितासम्म जोड्नका लागि प्रतियोगिता फलदायी हुने उनको विश्वास छ ।
त्यस्तै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र अन्य राष्ट्रिय, अन्तराष्ट्रिय खेलका लागि पनि यो प्रतियोगिताले सहयोग गर्ने कुँवरले बताए । प्रतियोगितामा सिनियर र खेल खेलिरहेका भन्दा पनि जुनियर खेलाडीलाई महत्व दिईएको छ ।
तौल समुहमा छात्रा १३ र छात्र १३ गरी २६ समुहमा विभाजन गरिएको छ । विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कावासोतीमा झण्डै १५ वटा डोजाङले तेकवान्दो सिकाउँछन् ।