करण केसीको अलराउण्ड प्रदर्शनमा स्कटल्याण्डमाथि नेपालको कीर्तिमानी जित

काठमाडौं, जेठ २० गते । पुछारका ब्याटर  ब्याटर करण केसीको विष्फोटक ब्याटिङ र कसिलो बलिङ मद्दतमा नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि  रोमाञ्चक जित निकालेको छ ।

स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित हासिल गर्यो  । २ सय ९७ रनको विशाल लक्ष्य नेपालले १ बल बाँकी छँदै ९ विकेट गुमाएर पूरा गर्याे ।

अन्तिम बलमा नेपाललाई जितका लागि १ रन आवश्यक थियो । तर अन्तिम बल मार्क वाटले वाइड फालेपछि नेपालले रोमाञ्चक जित हासिल गर्यो ।
नेपालको जितमा करण केसीले नायक रहे । लगभग गुमाईसकेको खेलमा उनले बहादुरीपूर्वक संघर्ष गरे । उनले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा नटआउट ६५ रन जोड्दै नेपाललाई जिताए । ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक बनाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।

कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे । आसिफ ३३ बलमा २ चौकाको सहयोगमा २० रनमा आउट भए ।

गुलशन कुमार झा ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाएर आउट भए । भीम सार्की ४८ बलमा ३ चौकाको सहयोगमा ४० रन बनाए । कप्तान रोहित कुमार पौडेल ५६ बलमा ३७ रन बनाएर आउट भए ।
स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गरेको थियो ।

स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे । नेपालका तीव्र गतिका बलर करण केसी ८० रनमा खेलि रहेका उनलाई विकेट किपर आसिफ शेखबाट क्याच आउट गराएका हुन् ।

फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रनमा आउट भए । उनी ५०औं ओभरमा सोमपाल कामीको बलमा आउट भए ।

कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए । कप्तान बेरिङ्टन करणकै बलमा विकेट किपर आसिफबाट समातिए ।

म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए ।

ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए ।

नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

जितसँगै ८ टोली सहभागी लिग टु मा नेपाल १३ खेलमा ८ अंकका साथ सातौं स्थानमा उक्लिएको छ ।  पराजित स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।

विश्वकप लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।