काठमाडौं । विश्वकप लिग २ अन्तरगत स्कटल्याण्डमा जारी श्रृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आरिफ शेखको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो ।
स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले २ सय २६ रनको लक्ष्य ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए । आरिफले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ७८ रनमा आउट भए । नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ३ चौकाको सहयोगमा नट आउट ३८ रन बनाए । पाँचौ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपुर्ण साझेदारी गर्दै जिततर्फ अघि बढाए ।
ओपनर कुशल भुर्तेलले ४२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा १ चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख २२ बलमा ३ चौकाको सहयोगमा १९ रनमा आउट भए । भीम सार्की २६ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए ।
नेदरल्याण्ड्सका लागि माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २ सय २५ रन बनाएर अलआउट भएको थियो ।
नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । आठौं विकेटका लागि कोर्स र रोलेफ भान डर मिर्वोले ५५ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफल सम्म पुर्याए । मिर्वो २२ बलमा २१ रन बनाउँदै रन आउट भए ।
कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा ४६ रन जोडे । ज्याक लायन ३४ बलमा २७ रन,तेजा निदामनुरु २९ बलमा १३ रन बनाएर आउट भए ।
नेपालका लागि सोमपालले ३ तथा करण, ललित र सन्दीपले समान २ विकेट लिए । यो जितपछि नेपालको १४ खेलमा १० अंक भएको छ । नेपाल सातौं स्थानमा छ ।