नवलपरासी, जेठ २३ गते । नवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ । सुनवल नगरपालिका २ औरहियामा छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका हुन् ।
बिहान ३५ वर्षीय खेमराज थारुले ५० वर्षीय बाबु दयाराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।
उनीहरु दुबै जनालाई कोदालोले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । हत्या गर्ने खेमराजलाई घरबाटै पक्राउ गरिएको डीएसपी पन्तले बताए ।
खेमराजले के कति कारणले हत्या गरे भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।









