विनयी खोलामा नयाँ पुल निर्माणको काम सकियो, एक महिनामा सञ्चालनमा आउने

नवलपुर, जेठ २३ गते । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दुम्किबासमा पर्ने विनयी खोलामा नयाँ पुल निर्माणको काम सकिएको छ ।

चिनीयाँ ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर राकेश झाका अनुसार दुम्किबासको विनयी खोलाको अन्तिम स्पानमा आज ढलानको काम सकिएसँगै पुल निर्माणको काम सकिएको हो ।

उक्त पुल निर्माण सम्पन्न भएसँगै अबको २८ दिनमा पुल माथिबाट सवारी साधन सञ्चालनमा लाइयने झाले बताउनुभयो । नारायणघाट-बुटबल सडक आयोजनाले विनयी खोलामा पुल निर्माण सम्पन्न भएसँगै बर्षा अगाडि नै पुल सञ्चालनमा आउने जनाएको छ

गत २६ पुस गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । डाइभर्सन पनि खोलाले तीन पटक बगाएको छ । जसका कारण यात्रुले सास्ती व्यहोर्नु परेको छ ।