विशाल लक्ष्य पच्छाएको नेपाल स्कटल्याण्ससँग २ रनले पराजित

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।

स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३२१ रनमा समेटियो ।

भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपनि अन्त्यमा स्कटल्याण्ड भाग्यमानी साबित भयो ।

नेपालको १८३ रनमा ६ विकेट गुमेपछि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मिलेर सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै सम्भावित शानदार जितको नजिक पुर्‍याएका थिए । तर दिपेन्द्र ४७औं तथा सोमपाल ४८औं ओभरमा आउट भएपछि करण केसी र सन्दीप लामिछाने माथि जिम्मेवारी आएको थियो ।

अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक छँदा करण केसी स्ट्राइकमा थिए र अनुभवी बलर सफिया शरिफ बलिङमा आए । पहिलो बलमा २ रन लिएर दोस्रो बल डट फेस गरेका करण तेस्रो बलमा क्याच  आउट भएपछि नेपाललाई ३ बलमा ५ रन आवश्यक भयो ।

ललित राजवंशीले ब्याटबाट मिस गरेपनि बाइको रन लिँदा सन्दीप स्ट्राइकमा आए र उनले पनि १ रन लिएपछि नेपाललाई अन्तिम बलमा ३ रन आवश्यक थियो । अन्तिम बलमा ललित बोल्ड भए ।

नेपालका भीम सार्कीले सर्वाधिक ७३ रन बनाउँदा सोमपालले ६७ र दिपेन्द्रले ५६ रन बनाए । स्कटल्याण्डका म्याकेन्जी जोन्सले ३ तथा शफिया शरिफ र माइकल लिस्कले २-२ विकेट लिँदा ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १-१ विकेट लिए ।

त्यसअघि कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कको विस्फोटक फिनिसिङमा स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको बलियो योगफल खडा गरेको थियो । यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।

नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । त्यस्तै ललित राजवंशीको नाममा १ विकेट रह्‍यो ।

नेपालले यसअघि पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसपछिको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।

लिग २ मा १५ खेल खेलेको नेपाल १० अंकमा सिमित छ । स्कटल्याण्डको १७ खेलबाट २२ अंक भएको छ ।

लिग २ मा ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोलीले सन् २०२७ को ओडिआई विश्वकपको छनोटमा सोझै स्थान बनाउनेछन् ।