बोमलाल गिरी
नवलपुर, जेठ २७ गते । बढी भार बोक्ने ठूला गाडिका कारण धमाधम पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरका पुलहरु भाचिन थालेपछि प्रहरीले चौविसै घण्टा गस्ती गर्न थालेको छ ।
मर्मत गरी सञ्चालनमा आएको चोरमारास्थित गिरुवारी खोलाको पुलबाट बढि भार बोकेका गाडि चल्न रोक लगाउन चौविसै घण्टा प्रहरीले ड्युटी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
प्रहरीले यो पुलबाट ४० टनभन्दा बढि भार बोकेका गाडि चलाउन प्रतिवन्ध लगाएको छ । निर्धारित तौलभन्दा बढि भार बोकेका गाडिहरुलाई नियन्त्रणमा लिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज वन्जराका अनुसार ४० टनभन्दा बढि भार बोकेका ११ वटा गाडिलाई दुम्कीवासमा होल्ड गरेर राखिएको छ । दुम्किवासबाट पास भएर आएका ९ वटा गाडिलाई कारवाही गरिएको छ भने दुईवटा गाडिको भार मिलान गरेर गन्तव्य तर्फ लागेका छन् ।
यीमध्ये दुईवटा मात्र नेपाली गाडि हुन् भने बाँकी सबै भारतीय नम्बर प्लेटका गाडि हुन् । बढी भार बोकेर आएका गाडिहरुलाई अर्को गाडिमा भार मिलाएर मात्र गन्तव्यमा जान दिइएको प्रहरी निरीक्षक वन्जराले बताए ।
गाडिहरुको क्षमता ४० टनमन्दा माथि बोक्न सक्ने भएपनि निक्कै पुरानार जोखिमपूर्ण पुलका कारण सडक विभागको निर्देशनमा यस्तो गर्नु परेको प्रहरी प्रमुख ढकालले बताए ।
तर भार नियमन गर्ने उपकरण भने प्रहरीसँग छैन । गाडिहरुले बोकेको बिल, भन्सार विभागले निर्धारण गरेको तौल र बेल्डहियामा रहेको धर्मकाँटाले लिएको तौलका आधारमा भार एकिन गर्ने गरिएको ढकालको भनाइ छ।
नवलपुरमा होङ्सी र सीजी सिमेन्टबाट आउने ठूला गाडिमा भारको समस्या हुने गरेको प्रहरीको भनाइ छ । बढी भार बोकेका गाडिहरुका कारण दुम्कीवासको विनयी खोलार चोरमाराको गिरुवारी खोलाको पुल भाँचिएपछि प्रहरीले कडाइ गरेको हो ।