नवलपुर, जेठ ३० गते । नवलपुरको देवचुलीमा ९० वर्षका बृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
देवचुली-३ आम्बासका ९० वर्षिय दिल बहादुर थापाले ७६ वर्षिया श्रीमती जमुना थापालाई फलामको रडले प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
रडले टाउकोमा लागेर जमुनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
राती सवा ९ वजेतिर भएको घटनाको बारेमा थापा दम्पतीका छोराले प्रहरीमा खवर गरेको र सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आज बिहान मात्रै घटनास्थलको मुचुल्का सहित अनुसन्धान कार्य थालेको प्रहरीले जनाएको छ ।
यस्तै गैंडाकोट नगरपालिका-१२ हर्कपूर चोकमा स्याङजा चापाकोट -८ घर भई हाल चितवन भरतपुर-२ बस्ने २० वर्षिय बिमल कुमालमाथि खुकुरी प्रहार भएको छ ।
बिमल र सोही ठाउका २१ वर्षय सरोज गुरुङ ३ जना केटीसँग बसिरहेको अबस्थामा ५।६ जना युवाहरुले बिमललाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। उहाँको गैडाकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।