बाढीले फेरि विनयी खोलाको डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध

नवलपुर, असार ४ गते । मंगलबार राति परेको पानीले फेरि डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सोमबारको बाढीले डाइभर्सन बगाएपछि हिजो दिनभरी अवरुद्ध भएको सडक साँझदेखि एकतर्फी खुलेको थियो ।

तर मंगलबार रातिको बाढीले फेरि डाईभर्सन बगाउँदा सडक पूर्ण रुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । तत्काल यो सडक खुल्ने अवस्था नरहेकाले यो मार्ग भएर यात्रा नगर्न प्रहरीले सबै सित आग्रह गरेको छ ।

डाइभर्सन मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहे पनि बाढीको बहाव नघटेकाले समस्या भएको नेपालले बताए ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको २ सय ४५ मिटर लामो पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ ।

खोलाले यो डाइभर्सन बगाएको यो छैटौं पटक हो । धेरैजसो सवारी साधनहरु, अरुणखोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छ्रन् । जसका कारण सवारी साधनका चालक तथा सयौं यात्रु अलपत्र परेका छन् ।

दाउन्नेमा निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेदेखि सञ्चालन हुने बताइएको छ । नारायणघाट–बुटबल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्दछ । यही जेठ २३ गते पुलको अन्तिम स्पानको ढलान सकिएको हो ।

नवलपुर दिनहुँजसो वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले डण्डा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको भन्दै विभागले कावासोती खोला, पत्थर खोला, गिरुवारी खोला लगायतका खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।