नवलपुर, असार ४ गते । मंगलबार राति परेको पानीले बगाएको डाइभर्सन मर्मतपछि नारायणघाट–बुटबल सडक खण्डको दुम्विासबाट एकतर्फ रुपमा गाडी पास हुन सक्ने बनाइएको छ । सोमबारको बाढीले डाइभर्सन बगाएपछि हिजो दिनभरी अवरुद्ध भएको सडक साँझदेखि एकतर्फी खुलेको थियो ।
अहिले फेरी मर्मत गरेर एकतर्फी रुपमा गाडी पार गर्न सक्ने बनाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । डाइभर्सन बाढीले बगाउँदा बिहानदेखि गाडीहरु रोकिएका कारण लामो जाम परेको छ भने दाउन्नेमा बाटो हिलाम्मे हुँदा गाडी फसेका कारण निक्कै लामो जाम भएको प्रहरीले जनाएको छ ।
खोलाको वेग बढी भएका कारण सानो बाढी आउँदा पनि डाइभर्सन बगाउने गरेको छ । त्यहाँ निर्माण गरिएको डाइभर्सन मंगलबारसम्म ६ पटक बगाइसकेको छ ।
यसैगरी गएरातिदेखि दाउन्नेको हिलो बाटोमा फसेका गाडी निकाल्न नसक्दा पश्चिम खण्डमा दाउन्नेदेखि मुमहीसम्म र पूर्वी खण्डमा दाउन्नेखि चोरमारासम्म जाम परेको प्रहरी उपरीक्षक नेपालले बताए । जसका कारण एम्बुलेन्स समेत संचालन हुन सकेको छैन ।
दुम्कीवासबाट ३ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिर नजिकै निर्माणाधीन पुलमा फसेका मालबहाक गाडीका कारण जाम परेको हो । दाउन्नेमा बाटो खुल्नासाथ साना गाडी र यात्रुबाहक सवारी साधनलाई पहिलो प्राथमिकतामा राखेर यातायात सन्चालन गर्ने जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
ओभरटेकको समस्या समाधानका लागि जिल्लाका ठाउँठाउँमा ७७ जना प्रहरी राजमार्गमा परिचालन गरिएको ढकालले जानकारी दिए ।









