नारायणघाट–बुटबल सडकको बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

नवलपुर, असार ५ गते । नवलपुर प्रहरीले नारायणघाट–बुटबल सडकको बैकल्पिक मार्ग प्रयोग गर्न सबैसित अनुरोध गरेको छ ।

लगातार पानी परिरहेपछि आएको बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पुर्याएको तथा दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेला लगायत स्थानका सडक चिप्लो भई अघि बढ्न नसक्ने तथा चिप्लेर फसी आवागमनमा अवरोध भएको जनाएको छ ।

प्रहरीले बिहीबार बिहान विज्ञप्ती निकालेर सकेसम्म यो सडक भएर यात्रा नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न सबैसित अनुरो गरेको हो । प्रहरीका अनुसार पूर्ववाट पश्चिम जाने ठुला सवारी साधन नारायणघाट–मुग्लिन–पोखरा–स्याङजा हुँदै बुटबल निस्कन सक्ने छन् ।

त्यस्तै पश्चिमबाट पूर्व जाने ठुला सवारी साधनहरु बुटबल–स्याङजा–पोखरा–मुग्लिन हुँदै गन्तब्यमा जान सक्ने छन् । साना सवारी साधनको हकमा भने बाटोको अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैँडाकोट, पिपलडाँडा सडक खण्डबाट यात्रा गर्न सकिने प्रहरीले स्पष्ट पारेको छ । तर करिडोर पनि लगातारको वर्षाले ठाउँठाउँमा पहिरो र बाढीको जोखिम रहेको छ ।

बाढीले मंगलबारदेखि दुम्किवासस्थित विनयी खोलाको डाईभर्सन बगाएपछि दिनहुँजसो अवरोध भइरहेको छ । यो डाइभर्सन सात पटकसम्म खोलाले बगाउँदा आवागमन निक्कै कठिन भएको प्रहरीको भनाइ छ । त्यस्तै बुधबार दिउँसोदेखि दाउन्नेमा चिप्लो बाटोमा गाडी फस्दा निक्कै लामो जाम लागेको छ भने यात्रा कष्टकर भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए ।