नवलपुर, असार १९ गते । नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल सञ्चालना आएको छ । बिहान ११ बजेदेखि नयाँ पुलबाट सबै खाले सवारी साधनले यात्रा गर्न सुरु गरेको सडक डिभिजन कार्यालय, चितवनले जनाएको छ ।
पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालन सुरु भएको नारायणघाट–बुटबल सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वर बहादुर रिजालले जानकारी दिए ।
गत २६ पुस गते अत्याधिक भार बोकेको भारतीय ट्रक गुड्दै गर्दा दुम्किवासको पुरानो फलामे पुल भाचिँएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि खोलाले ९ पटकसम्म बगाएपछि यो मार्ग भएर यात्रा गर्न निक्कै कष्टकर भएको थियो ।
पछिल्लो पटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन बनाइएको थिएन । जसका कारण साना तथा हलुवा सवारी साधन वैकल्पिक मार्गबाट ओहोरदोहोर गर्ने गरेका थिए भने ठुला तथा मालवाहक सवारी साधन भने तीन चार दिन कुरेर खोलाको बहाव घटेपछि आवतजावत गरिरहेका थिए । अव भने बैकल्पिक मार्गको प्रयोग गर्न नपर्ने आयोजनाले स्पष्ट पारेको छ ।
अब नयाँ पुल सञ्चालनमा आएपछि भने यात्रु र चालकले केही राहत पाउने छन् । तर दुम्किवासको समस्या समाधान भए पनि दाउन्नेको झन्झट भने कायमै रहेको छ ।
आयोजना प्रमुख रिजालले अव डाउन्नेमा बर्खाअघि बाटो विस्तारको काम नहुने र मर्मत मात्र हुने भएकाले बर्खाभरी समस्या हुन सक्ने बताउनुभयो । यहाँ हल्का पानी परेको बेला उकालोमा चिप्लिएर गाडी गुड्न नसक्ने र बाटोमा गाडी फस्ने गरेका भएकाले समस्या यथावत छ ।