पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अबको आफ्नो लक्ष्य नेकपा एमालेको अध्यक्ष बन्नु रहेको बताएकी छन् । इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा उनले आफूले सरकारी सेवा–सुविधा परित्याग गरेको जानकारी दिँदै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको बताइन्।
उनले आफूलाई अहिलेको अवस्थामा नेकपा एमालेको नेता भन्न मिल्ने बताउँदै आफ्नो चाहना पार्टीको नेतृत्व लिनु रहेको प्रष्ट पारिन् । ‘व्यक्तिगत पदलोलुपता वा महत्त्वाकाङ्क्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ,’ उनले भनिन्। कार्यक्रममा ‘यो सबै गर्नका लागि तपाईँलाई एमालेको अध्यक्ष बन्नुपर्छ भन्ने हो ?’ भनेर सोधिएको प्रश्नमा उनले ‘हो’ भन्ने स्पष्ट जवाफ दिइन् ।
हालका अध्यक्ष केपी शर्मा ओलीबारे बोल्दै भण्डारीले दुई कार्यकाल अध्यक्ष भइसकेका उनी दोहोरिएर नेतृत्वमा नआउने विश्वास व्यक्त गरिन्। ‘मैले चिनेको केपी ओली त्यस्तो होइन,’ उनले भनिन् ।
केही साताअघि मात्रै उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेको थिइन् । त्यसयता उनको राजनीति सक्रियताबारे चर्चा परिचर्चा परिचर्चा हुँदै आएकामा भण्डारीले आगामी योजनाबारे खुलेर बाेलिन् ।
पार्टीभित्र विगतमा देखिएको विभाजन र गुटबन्दी स्वीकार गर्दै उनले त्यसलाई अब समाधान गरी एमालेलाई थप सुदृढ बनाउने अठोट व्यक्त गरिन् ।









