हतियार देखाएर सुनका गहना लुटपाट

नवलपुर, साउन २ गते । नवलपुरको गैँडाकोट नगरपालिका–१ को विकास चोकको एक घरमा हतियार देखाएर लुटपाट भएको छ । घरेलु हतियार खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसी ५ तोला सुन लुटेर फरार भएका प्रहरीले जनाएको छ ।

पौडेलका अनुसार लुटेराहरुले मुखमा कपडा बाँधेर खुकुरी घाटीमा राख्दै सुनका गहना मागेका थिए । “गहना नदिए छोरा–छोरीलाईसमेत छोड्दैनौं भन्दै धम्की दिए,” पौडेलले भनिन् । लुटेराहरु घरभित्र झन्डै १५ मिनेटसम्म बसेका थिए ।

लुटेराले सिक्री, औँठी, बाला, झुम्का, माइली तिलहरी लगायत करिब पाँच तोला सुनका गरगहना लिएर भागेको पौडेलले बताएको प्रहरीले जनाएको छ । इलाका प्रहरी प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालले घटनाको गम्भीरतापूर्वक अध्ययन सुरु गरिएको बताइन् । “सम्भावित व्यक्तिहरुको खोजी र अनुसन्धान सुरु गरिएको छ,” उनले भनिन् ।

घटनाबाट त्रसित स्थानीयले रातको समयमा सुरक्षा व्यवस्था थप कडा बनाउन प्रहरीसँग माग गरेका छन् । पछिल्लो समय गैँडाकोट क्षेत्रमा यस्ता घटनामा वृद्धि हुन थालेको भन्दै प्रहरीले थप सतर्कता अपनाउने जनाएको छ ।