नवलपुरमा चोरीका घटना बढे, सतर्क रहन प्रहरीको अपिल

नवलपुर, साउन १३ गते। नवलपुरको गैँडाकोट वडा नम्बर ९ थुम्सीका कल्पना देवकोटाको घरमा साउन १२ गते कोही नभएको मौका छोपी घर पछाडिबाट छिरेर दराज फुटाई तीन तोला सुन, छड्को र माहिली तिलहरी, टप, औंठी, तीन जोर चाँदीका पाउजु लगायत गरगहना चोरी भयो।

गैँडाकोट नगरपालिका–१ को विकास चोकमा रहेको एक घरमा साउन १ गते खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसी ५ तोला सुन लुटेर भागे।

असार ३० गते मध्यविन्दु नगरपालिका ८ को ल्होसेधारा गोसाइबाबा मन्दिर धामको परिसर भित्रबाट दानपेटिकामा रहेको झण्डै सात हजार रुपियाँ चोरी भयो। गर्मी बिदाको मौका छोपी जनकल्याण माध्यामिक विद्यालय रिठेपानीबाट तीन थान कम्प्यूटर जोरी भयो। केही समय पहिले कावासोतीका मार्ट पसलहरुमा निरन्तर चोरी भइरहेको थियो।

यी त पछिल्ला चोरीका घटनाका केही उदाहरण मात्र हुन्। यी घटनाहरुले देखाएको छ नवलपुरमा चोरीका घटना बढेका छन्। प्रहरीले चोरी बढिरहेको भन्दै ठाउँ ठाउँमा माइकिङ गरेर सचेत गराइरहेको जनाएको छ।

जिल्लामा चोरीका घटना बढेको भन्दै सर्तक रहन माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । ‘‘ठूला चोरीका घटना नभए पनि साना तिना चोरी र चोरी गर्ने नियतले घर फोर्ने लगायतका घटनाहरु बढेपछि सतर्कता अपनाउन माइकिङ्ग गरिएको हो,’’ यादवले भने ।

प्रहरीले चोरी नियन्त्रणको प्रयास भइरहेको जनाएको छ। सुन चोर्ने कावासोती–१७ गोछडाका २३ वर्षीय सुस्मा महतो र चोरीको सुन सस्तो मूल्यमा किन्ने कावासोती–२ मा रहेको न्यू राहुल सुनचाँदी पसलका सञ्चालक राजेश बिसीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

नेपालका अनुसार गत आर्थिक वर्षमा चोरीका २२ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। गत आवमा जिल्लामा बढी चोरी हुने वडा र एरियाको पहिचान गरी १६६ वटा चोरी नियन्त्रण  कार्यक्रम संचालन गरिएको,  सादा पोशाकमा गस्ती÷पेट्रोलिङ डिउटी खटाइएको नेपालले बताए ।

जिल्लामा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग वाणिज्य संघले पटकपटक प्रहरी र प्रशासनको ध्यानाकर्षण गराउँदै आएको छ। नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरीसँग माग गरेका छन्।

‘‘एकातिर डर त्रासबाट व्यापर गर्नुपर्ने बाध्यता छ भने अर्कोतर्फ नागरिकको समेत जिउ धनको सुरक्षा छैन,’’ महासचिव पोख्रेलले भने, ‘‘सुरक्षाको प्रत्याभूति दिलाउने काम सरकारको हो, सरकार यसमा चुकिरहेको छ।’’

उनले रात्रिकालीन गस्ती बढाउन पनि प्रहरीसँग आग्रह गरेका छन । ‘‘हामीले पटक पटक प्रशासनको ध्यानाकर्षण गराइरहेका छौं, सरकारले नसुन्ने हो भने हामी कडा रुपमा प्रस्तुत हुन बाध्य हुनेछौं,’’ महासचिव पोख्रेलले चेतावनीको शैलीमा भन्नुभयो।

साथै उनले घरबाहिर निस्कदा सामाजिक सञ्जालबाट यथार्थ जानकारी नगराउन पनि सबैसँग अपिल गरेका छन् ।